कीवर्डहरू -

एआई बजारमा नयाँ तरंग : डिपसिकले आफ्नै चिप विकास गर्दै

एआई बजारमा नयाँ तरंग : डिपसिकले आफ्नै चिप विकास गर्दै

एजेन्सी । चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी डिपसिकले आफ्नै एआई चिप विकास गर्ने तयारी अघि बढाएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कम्पनीले हाल प्रयोग गरिरहेको बाह्य चिप आपूर्तिमाथिको निर्भरता घटाउने उद्देश्यसहित नयाँ चिप विकासमा काम गरिरहेको हो ।

रोयटर्सले यस विषयमा जानकार तीन स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार डिपसिकले विकास गरिरहेको चिप विशेष गरी इन्फरेन्स कार्यका लागि लक्षित हुनेछ । इन्फरेन्स भनेको पहिले नै प्रशिक्षित एआई मोडेलले प्रयोगकर्ताको प्रश्नको उत्तर दिने प्रक्रिया हो । स्रोतहरूका अनुसार यो चिप नयाँ एआई मोडेललाई प्रशिक्षण दिन प्रयोग गरिने उद्देश्यका लागि भने विकास गरिएको होइन ।

यदि यो परियोजना सफल भयो भने डिपसिकले एआई सफ्टवेयर विकासबाट हार्डवेयर निर्माणतर्फ महत्वपूर्ण कदम चाल्नेछ । यसले कम्पनीलाई हाल निर्भर रहँदै आएका एनभिडिया र हुवावेका चिपको प्रयोग घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

विश्लेषकहरूका अनुसार डिपसिकको यस्तो रणनीतिले चीनको एआई चिप बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्न सक्छ । विशेष गरी हाल घरेलु बजारमा बलियो उपस्थिति बनाएको हुवावेका लागि यो चुनौतीपूर्ण बन्न सक्ने आकलन गरिएको छ ।

डिपसिकले गत वर्ष सार्वजनिक गरेका दुई उन्नत एआई मोडेलले विश्वव्यापी चर्चा पाएका थिए । कम स्रोत साधनमै प्रभावकारी प्रदर्शन गर्न सफल ती मोडेलले सिलिकन भ्यालीदेखि वासिङ्टनसम्मका प्रविधि क्षेत्रका विज्ञहरूको ध्यान आकर्षित गरेका थिए ।

हालसम्म डिपसिकको मुख्य ध्यान एआई मोडेलको अनुसन्धान तथा विकासमा केन्द्रित रहेको मानिन्छ । व्यवसायिक हार्डवेयर उत्पादनमा भने कम्पनीको संलग्नता सीमित थियो । आफ्नै एआई चिप विकासको प्रयास सफल भएमा कम्पनीले पहिलो पटक सेमिकन्डक्टर क्षेत्रमा पनि प्रत्यक्ष उपस्थिति जनाउनेछ ।

अमेरिकाले चीनतर्फ एनभिडियाका उन्नत एआई चिपको निर्यातमा कडाइ गरेपछि चिनियाँ कम्पनीहरू वैकल्पिक समाधानको खोजीमा लागेका छन् । यही परिवेशमा हुवावेले घरेलु बजारमा आफ्नो प्रभाव उल्लेखनीय रूपमा विस्तार गरेको छ ।

स्रोतहरूका अनुसार चीनको करिब ५० अर्ब अमेरिकी डलर बराबरको एआई चिप बजारमध्ये झन्डै आधा हिस्सा हुवावेको नियन्त्रणमा रहेको छ, जहाँबाट डिपसिकसहित धेरै चिनियाँ एआई कम्पनीले चिप प्राप्त गर्दै आएका छन् ।