धुलिखेल नगरपालिका एआई टेलिफोनी सेवा प्रयोग गर्ने पहिलो सरकारी निकाय बनेको छ । एआईको युगमा आफ्ना नागरिकसँग सूचना प्रवाह गर्न नगरपालिकाले एआई टेलिफोनी सेवा प्रदायक टिङटिङ प्रयोग गर्न थालेको हो ।
अब नगरपालिकाले आफ्ना ३८ हजार नागरिकसँग नेपाली भाषामा सूचना प्रवाह र कुराकानी गर्न सक्ने छ । टिङटिङको प्रयोग गरेर एकैसाथ हजारौं नागरिकलाई सम्बन्धित व्यक्तिको नाममा स्वचालित फोन कल गर्न सकिने छ ।
पहिले, कर तिर्ने म्याद, जन्म दर्ता, स्वास्थ्य शिविरको जानकारी जस्ता महत्वपूर्ण सूचनाहरू सबै नागरिकसम्म पुर्याउन चुनौतीपूर्ण थियो । अब भने, नगरपालिकाको सूचना हरेक नागरिकको मोबाइलमा सिधै पुग्नेछ ।
धुलिखेल नगरपालिका मेयर अशोक कुमार ब्यान्जु श्रेष्ठले एआईको दौडमा सरकार पनि पहिलो हुनुपर्ने बताउँदै स्थानीय सरकारले नागरिकहरूलाई दिने सेवाहरूलाई सहज र सुलभ बनाउन डिजिटल सेवालाई प्राथमिकता दिएको बताए ।
‘हाम्रा ३८ हजार नागरिक र व्यावसायिक–औद्योगिक सहरका बासिन्दालाई गुणस्तरीय सेवा दिन एआई प्रणाली प्रयोगमा ल्याएका छौं,’ उनले भने, ‘यसको प्रभावकारी माध्यम टेलिफोन हो र नेपाली भाषामा प्रदान गर्ने हाम्रो प्रयासले सबै नागरिकलाई सेवा सुनिश्चित गर्नेछ ।’
धुलिखेलको यो पहल केवल प्रविधिको प्रयोग मात्र नभई नागरिकमैत्री शासनको एक नमूना पनि हो । सरल र प्राकृतिक माध्यमबाट सूचना प्रवाह गर्दा कुनै नागरिक पछाडि नपर्ने नगरपालिका विश्वास छ ।
धुलिखेलको कदमले देशका अन्य सरकारी निकायलाई पनि प्रविधि अपनाएर नागरिक सेवा प्रभावकारी र समावेशी बनाउन प्रेरित गर्ने विश्वास गरिएको छ ।