डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा तनहुँको सत्यवति मावीलाई सो अवार्ड दिइएको हो ।
सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका सरकारी तथा सार्वजनिक क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष प्रविधिको प्रयोग गरी उत्कृष्ट शिक्षण सिकाइ प्रक्रियामा अग्रसर सत्यवति माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।
तनहुँको दमौलीमा रहेको सार्वजनिक शैक्षिक संस्था हो, सत्यवति माध्यमिक विद्यालय । वि.सं. २०२३ सालमा स्थापना भएको विद्यालयले आईसीटीमा आधारित शिक्षामा जोड दिएको छ । २५ सय बढी विद्यार्थीहरूले अध्ययन गरिरहेको सत्यवति माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब, स्मार्ट क्लासरूम, स्पेसिलाइज्ड ल्याब, ई-लाईब्रेरी, ई-बुक, ई-जर्नल, भिडियो कन्फेरेन्सिङ जस्ता सुविधाहरू छन् ।
प्रयाक्टिकल आईसीटी सीप विकासमा जोड दिएको विद्यालयमा ४५ वटा कम्प्युटर, १० वटा ल्यापटप, २५ वटा इन्टर्याकटिभ ह्वाइटबोर्ड, ७ वटा प्रोजेक्टर, ५ वटा टिभी स्क्रिन, १०२ वटा सीसीटिभी र एउटा इलेक्ट्रोनिक ल्याब समेत छन् ।
सूचना प्रविधिको बढ्दो विकास र विस्तारसँगै विद्यालयले आईसीटी पूर्वाधारमा लगानी गर्दै डिजिटल शिक्षामा जोड दिइरहेको छ ।