कीवर्डहरू -

डिजिटल मिडिया सोसाइटी गठन

डिजिटल मिडिया सोसाइटी गठन

डिजिटल मिडियाका प्रकाशकहरूले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् । मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको भन्दै समाचारलाई अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गरेर ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरिएको हो ।

संस्थाको अध्यक्षमा बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान रहेका छन् । यसैगरी, उपाध्यक्षमा सेतोपाटी सञ्चार प्रालि (सेतोपाटी डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डटकम)का अध्यक्ष तथा सम्पादक बिमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमान्डु डटकम)का अध्यक्ष पुष्प दुलाल रहेका छन् ।

सोसाइटीका कार्यसमिति सदस्यहरूमा विकास मिडिया प्रालि (विकास न्युज डटकम)का अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल प्रालि (क्यापिटल नेपाल डटकम)की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्रालि (देशसञ्चार डटकम)का अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रालि (हाम्रा कुरा डटकम)का कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्रालि (नेपाल लाइभ डटकम)का अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्युज नेटवर्क प्रालि (रातोपाटी डटकम)का सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्रालि (शिलापत्र डटकम)का सञ्चालक सुरेश सिम्खडा रहेका छन् ।

कम्तीमा सञ्चालनको पाँच वर्ष पूरा गरेका र न्यूनतम् १५ जना सञ्चारकर्मीलाई रोजगारी दिइरहेका अनलाइन सञ्चारमाध्यमहरू सोसाइटीमा आबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बद्र्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको पाँच वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो दुई वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना सञ्चारकर्मीलाई रोजगारी दिइरहेका र गत आर्थिक वर्षसम्म सरकारी कर चुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन् ।’

यस्तै, संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालि (हिमाल खबर डटकम)का अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्युज नेटवर्क प्रालि (रातोपाटी डटकम)का संस्थापक ओम शर्मालाई सल्लाहकारमा चयन गरेको समेत संस्थाले जनाएको छ । विधानका सर्त पूरा गर्ने संस्थाहरूलाई सोसाइटीको सदस्य बन्न आवेदन खुला गरिएको समेत जानकारी दिइएको छ ।