जेष्ठ २५ गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ ।
काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रममा केही अन्तराष्ट्रिय विज्ञहरुसहित ५० बढी व्यक्ति विभिन्न सेसनहरुमा वक्ताको रुपमा सहभागी हुनेछन । कन्क्लेभमा ७ थिममा १० बढी सेसनहरु सञ्चालन हुनेछन । केही अन्तराष्ट्रिय विज्ञहरुको किनोट प्रस्तुतीसँगै मन्त्रीस्तरिय संवाद सेसनहरु पनि सञ्चालन हुनेछन ।
डिजिटल नेपालको लागि नविनतम् प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर दिइनेछ । कार्यक्रममा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरुसहित ६०० बढीको सहभागिता रहने अपेक्षा छ ।
फाउण्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने डिजिटल कर्णाली कन्क्लेभ आयोजना गरेको थियो । गत दुई वर्ष आयोजकले सातै प्रदेशमा डिजिटल संवाद कार्यक्रम आयोजना गर्दै प्रदेशहरुको डिजिटल अवस्था र क्षमताको बारेमा अनुसन्धानमुलक पुस्तकहरु प्रकाशन गरेको छ ।
सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । डिजिटल रुपान्तरण र यसको इकोसिस्टम विकासको लागि आइसिटी फाउण्डेसनले देशैभरी कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष राजन लम्सालले जानकारी दिए ।
यसवर्षको डिजिटल नेपाल कन्क्लेभ अझ अर्थपूर्ण र प्रभावकारी बनाइने लम्सालको भनाइ छ । डिजिटल नेपाल कन्क्लेभको रिपोर्ट र रिसर्च प्रकाशनहरु वेबसाइटमार्फत डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ ।