कीवर्डहरू -

नेपाली प्रयोगकर्तालाई लक्षित ‘डिजिटल पात्रो’ एप सार्वजनिक, विज्ञापनरहित र अफलाइन फर्स्ट फिचर

नेपाली प्रयोगकर्तालाई लक्षित ‘डिजिटल पात्रो’ एप सार्वजनिक, विज्ञापनरहित र अफलाइन फर्स्ट फिचर

नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइड, आईओएस तथा वेब प्लेटफर्ममा प्रयोग गर्न मिल्ने ‘डिजिटल पात्रो (Digital Patro)’ एप सार्वजनिक गरिएको छ। विज्ञापनरहित र अफलाइन फर्स्ट अवधारणामा विकास गरिएको यो एपले चाडपर्व, विशेष दिन तथा विभिन्न कार्यक्रमका लागि सहजै सामाजिक सञ्जाल पोस्ट तयार गर्न सकिने पोस्ट जेनेरेटर सुविधा प्रदान गर्छ।

डिजिटल पात्रो एपमार्फत प्रयोगकर्ताले ई.सं. तथा वि.सं. मिति, तिथि, सूर्योदय–सूर्यास्त समय, पञ्चाङ्ग, राशिफल, रिमाइन्डर, मिति रूपान्तरण, मुहूर्त, रेडियो तथा विदेशी विनिमय दर (फरेक्स) जस्ता विभिन्न सेवा एकै स्थानबाट उपयोग गर्न सक्छन्।

एपको प्रमुख आकर्षणका रूपमा रहेको पोस्ट जेनेरेटर फिचरमार्फत प्रयोगकर्ताले चाडपर्व, विशेष दिवस वा कार्यक्रमका लागि आफ्नै थिम, रङ, डिजाइन तथा ब्रान्डिङअनुसार सामाजिक सञ्जाल पोस्ट सजिलै तयार गर्न सक्छन्। हाल यो एपमा पाँच हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको जनाइएको छ।

डिजिटल पात्रो विकासकर्ता कम्पनी वाईएचएच आईटी सोलुसन्सका प्रबन्ध निर्देशक सुदिप भण्डारीका अनुसार यो एप सधैं विज्ञापनरहित रहनेछ। सरल, छरितो र प्रयोगकर्तामैत्री अनुभव दिने उद्देश्यले डिजिटल पात्रो विकास गरिएको उनले जानकारी दिए ।

डिजिटल पात्रोमा मोबाइल होम स्क्रिन विजेट, नोटिफिकेसन बारमै मिति देखिने सुविधा तथा वेबसाइटका लागि वेब विजेटसमेत उपलब्ध छन्। कम्पनीले आगामी दिनमा पोस्ट जेनेरेटर फिचरलाई अझ परिष्कृत बनाउने र संस्था तथा व्यवसायहरूले आफ्नै पात्रो तयार गरी सेयर गर्न सक्ने ‘अर्गनाइजेसनल क्यालेन्डर’ फिचर थप गर्ने योजना बनाएको छ।