अध्यागमन विभागले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको डिजिटल माध्यमबाट ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले विभागद्वारा विकास गरिएको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।
प्रणाली उद्घाटन गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । साथै, डिजिटल ट्रयाकिङ प्रणालीले नेपाल आउने विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न, सूचना आदान–प्रदान सहज बनाउन, सम्भावित अपराध नियन्त्रण गर्न र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले नयाँ प्रणालीले विदेशी नागरिकको आवतजावत तथा बसाइ व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने बताए ।
विभागले होटल एसोसिएसनसँगको सहकार्यमा असोज १ गतेदेखि पहिलो चरणमा काठमाडौंका तारे होटलहरूमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गरिसकेको जनाएको छ । नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचना व्यवस्थापन, अपराध नियन्त्रण तथा पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्याउने उद्देश्यले यो प्रणाली विकास गरिएको विभागको भनाइ छ ।
नयाँ प्रणालीअनुसार कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि बुकिङ गरिएको होटलमा जानुअघि अनिवार्य रूपमा विवरण इन्ट्री गर्नुपर्नेछ । विवरण इन्ट्री भएपछि जेनेरेट हुने क्युआर कोडको आधारमा होटल तथा सेवा प्रदायक संस्थाले विदेशी नागरिकको विवरण विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । विवरण इन्ट्री नगरिएको अवस्थामा होटलहरूले आफैं विवरण भरेर प्रणालीमा अपलोड गर्नुपर्नेछ ।
हाल यो प्रणाली देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी तथा मनी एक्सचेन्जहरूमा लागू गरिएको छ । आगामी दिनमा यसलाई क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस तथा सार्वजनिक–निजी संस्थाहरूमा विस्तार गरिने विभागले जनाएको छ ।
आईसीटी समाचार