नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अन्तर्गत विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्रको सूचना पहुँच केन्द्र (आईएसी) ले सञ्चालन गर्दै आएको मोबाइल आईएसी (बस) मार्फत तीन दिने स्वरोजगारसम्बन्धी डिजिटल तालिम सञ्चालन गरिएको छ।
कोरियन सरकारको सहयोगमा सन् २०२१ मा स्थापना गरिएको सूचना पहुँच केन्द्रको उद्देश्य देशका पिछडिएका समुदाय, महिला, शिक्षक, विद्यार्थी लगायत समूहमा विद्यमान डिजिटल अन्तर कम गर्दै डिजिटल साक्षरता अभिवृद्धि गर्नु रहेको छ। हालसम्म यस केन्द्रले सातै प्रदेशमा विभिन्न सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरी १२ हजारभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको छ।
यही सन्दर्भमा थारु राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रको आह्वानमा पौष २२ देखि २४ गतेसम्म नवलपरासीको कावासोती–१६, डण्डा स्थित स्थलमा २३ जना थारु समुदायका युवा–युवतीलाई लक्षित गर्दै ‘स्वरोजगारीका लागि नवीनतम डिजिटल प्रविधिसम्बन्धी क्षमता अभिवृद्धि तालिम’ सञ्चालन भइरहेको छ। तालिमका सहभागीहरू प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत चयन गरिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म चल्ने यस तालिममा नेपालको वर्तमान आईसीटी अवस्था, नीति–नियम, साइबर सुरक्षा र चुनौती, कृत्रिम बुद्धिमत्ता (AI) र त्यसका उपकरणहरूको प्रयोग, डिजिटल मार्केटिङ, डाटा संकलन तथा विश्लेषण, साथै कन्टेन्ट क्रियसन सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ। तालिममार्फत युवाहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य लिइएको छ।
सीमित स्रोत–साधनका बाबजुद पनि नास्टले विगत केही वर्षदेखि यस्ता कार्यक्रमलाई नियमित गतिविधिकै रूपमा सञ्चालन गर्दै आएको जनाइएको छ। यस्ता तालिमहरूले सहभागीहरूलाई आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत दक्षता अभिवृद्धि गर्दै आत्मनिर्भर र स्वरोजगार बन्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास रहेको छ।
सूचना पहुँच केन्द्रका संयोजक प्रदीप ढोडारीका अनुसार आगामी दिनमा पनि देशका विभिन्न दुर्गम तथा पिछडिएका समुदायलाई लक्षित गरी यस्ता डिजिटल साक्षरता तथा सीप विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ।
आईसीटी समाचार