कीवर्डहरू -

डिजिटल वालेटले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने, आधिकारिक प्रतिनिधि राख्नुपर्ने

डिजिटल वालेटले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने, आधिकारिक प्रतिनिधि राख्नुपर्ने

भुक्तानी सेवा प्रदायकहरूले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटले एजेन्टमार्फत कारोबार गर्ने व्यवस्थालाई संशोधन गरेको छ । 

अब भने डिजिटल वालेटहरूले आधिकारिक प्रतिनिधिमार्फत कारोबार गर्नुपर्नेछ । प्रयोगकर्ताले वालटेमा आधिकारिक प्रतिनिधिमार्फत प्रतिदिन २५ हजार  र प्रतिमहिना १ लाख रूपैयाँसम्म रकम जम्मा गर्न सक्ने छन् ।  

ग्राहकले माग गरेको अवस्थामा आधिकारिक प्रतिनिधिमार्फत प्रति महिना २५ हजारभन्दा बढी नहुने गरी प्रतिदिन ५ हजार रूपैयाँ नगद प्राप्त गर्न सक्ने छन् । यसप्रकारको कारोबार बैंक तथा वित्तीय संस्थाको एटीएममार्फत समेत गर्न सकिने छ ।

आधिकारिक प्रतिनिधिले गर्ने कुल दैनिक कारोबारको सीमा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले निर्धारण गर्न सक्ने छन् । आधिकारिक प्रतिनिधिको सम्पूर्ण कारोबारको विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले विद्युतीय माध्यमबाट प्राप्त गरी अभिलेख राख्नुपर्ने छ ।

भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधिहरुले गर्ने कारोबारको निगरानीको लागि कारोबारको संख्या, रकम, स्थान, प्रवृति, वृद्धि आदिलाई विश्लेषण गरी त्रैमासिक प्रतिवेदन तयार गरी सञ्चालक समितिमा समेत पेश गर्नुपर्ने छ । साथै, अर्धवार्षिकरुपमा यस्तो प्रतिवेदन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा समेत पेश गर्नुपर्ने छ ।

भुक्तानी सेवा प्रदायक संस्थाहरूले आधिकारिक प्रतिनिधिसँग सम्झौता गर्दा नाम, ठेगाना, व्यवसायको प्रकृति, कारोबार गर्ने भौगलिक क्षेत्र लगायत विस्तृत व्यवसायीक तथा व्यक्तिगत विवरण, कम्पनी दर्ता/व्यवसाय दर्ताको अद्यावधिक प्रमाणपत्र, स्थायी लेखा नम्बरको प्रमाण, संस्थापक/सञ्चालकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रमाणीत प्रतिलिपि लिनुपर्नेछ । 

यस बाहेक बैंक तथा वित्तीय संस्थाको कारोबारमा कालोसूचीमा नपरेको, प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नभएको, सम्पत्ति शुद्धिकरण र आतंकवादी कार्यमा वित्तीय लगानीको क्रियाकलापमा नरहेको स्वघोषणा गर्नुपर्नेछ । 

भुक्तानी सेवा प्रदायक संस्थाहरूले आधिकारिक प्रतिनिधिका साथ सक्षमता परीक्षण गरेर मात्र सम्झौता गर्नुपर्नेछ । यसरी सम्झौता गर्दा अन्य संस्थाको प्रतिनिधिका रूपमा काम गर्न प्रतिबन्ध लगाउन भने पाइने छैन । 

आधिकारिक प्रतिनिधिहरूले गर्न पाउने काम 

आधिकारिक प्रतिनिधिले ग्राहकका वालेट वा प्रि–पेड कार्डजस्ता भुक्तानी उपकरणमा नगद जम्मा गर्ने वा भुक्तानी गर्न सक्नेछन् । तर, आफ्नो बैंक खातामा वा भुक्तानी सेवा प्रदायकको बैंक खातामा नगद जम्मा गराई आफ्नो वालेट खर्च गरी बैंक खातामा वा ग्राहक बाहेक अन्य व्यक्तिको वालेट खातामा रकम जम्मा गर्न पाइने छैन ।

यस्तै ग्राहकको तर्फबाट खानेपानी, बिजुली, इन्टरनेट, मोबाइल रिचार्जजस्ता सेवाबापतको बिल भुक्तानी एवं सरकारी सेवाबापतको शुल्क वा कर भुक्तानीका लागि सहजीकरण गर्ने, ग्राहकको वालेटको मौज्दात तथा कारोबारको विवरण प्रदान गर्ने काम गर्न सक्ने छन् । 

साथै प्रचलित कानुनको पालना गर्दै सुरक्षित तरिकाले विद्युतीय ग्राहक विवरण (ई–केवाईसी) लिने तथा उक्त विवरण अद्यावधिक गर्ने र रिमोट अनबोर्डिङ गरी ग्राहकको वालेट खाता खोलिदिने तथा राष्ट्र बैंकले समय समयमा निर्देशन दिएका अन्य सेवाहरू प्रदान गर्ने काम आधिकारिक प्रतिनिधिको हुनेछ ।