मेटाले आफ्नो मेटा कनेक्ट २०२५ सम्मेलनमार्फत नयाँ हार्डवेयरसँगै सफ्टवेयरसम्बन्धी घोषणा गरेको छ । कम्पनीले लोकप्रिय गेमिङ तथा भ्वाइस कम्युनिकेशन प्लेटफर्म डिस्कोर्डले मेटा क्वेस्ट हेडसेटका लागि नेटिभ एप विकास गर्ने जानकारी दिएको छ ।
मेटाका अनुसार सो नेटिभ एप सन् २०२६ भित्र सार्वजनिक हुनेछ । डिस्कोर्डको नेटिभ सपोर्ट आएपछि भर्चुअल रियलिटी (VR) मा खेल्ने गेमरहरूका लागि भ्वाइस र सोसल कनेक्शन सहज हुने अपेक्षा गरिएको छ ।
गेमिङमा बलियो उपस्थिति राख्ने VR प्लेटफर्ममा डिस्कोर्डको उपस्थितिलाई स्वाभाविक मानिएको छ । नेटिभ एपका कारण प्रयोगकर्ताले सहज रूपमा पहुँच पाउने भएकाले यसको उपयोगिता अझ बढ्ने अनुमान गरिएको छ ।
मेटाले यसलाई VR अनुभवका विकासकर्ताहरूका लागि पनि नयाँ अवसरको रूपमा व्याख्या गरेको छ । डिस्कोर्डसँग मासिक सक्रिय प्रयोगकर्ता २० करोडभन्दा बढी रहेकोले विकासकर्ताले आफ्ना सामग्रीलाई अझ ठूलो दर्शकसम्म पुर्याउन सक्ने मेटाको दाबी छ ।