कीवर्डहरू -

फोल्डेबल आइफोनको चर्चा तीव्र, के के हुन सक्छन् फिचर?

फोल्डेबल आइफोनको चर्चा तीव्र, के के हुन सक्छन् फिचर?
तस्वीरः आईफोन १७

एप्पलले फोल्डेबल आइफोनबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा नगरे पनि पछिल्ला महिनाहरूमा आएका विभिन्न लिक र विश्लेषक रिपोर्टहरूले यस्तो फोन सन् २०२६ को दोस्रो त्रैमासिकतिर सार्वजनिक हुन सक्ने संकेत दिएका छन्। 

हालै कम्पनीले नयाँ उत्पादनहरू सार्वजनिक गर्दा पनि फोल्ड हुने आइफोनबारे कुनै जानकारी दिएको थिएन, तर आपूर्ति शृङ्खलासम्बन्धी स्रोतहरूले परियोजना अघि बढिरहेको दाबी गरिरहेका छन्।

रिपोर्टहरूका अनुसार सम्भावित ‘आइफोन फोल्ड’ सन् २०२६ को अन्त्यतिर, सम्भवतः आईफोन १८ सिरिजसँगै सार्वजनिक हुन सक्नेछ । प्रख्यात विश्लेषक मिङ-ची कुओले पनि एप्पलले फोल्डेबल आइफोन २०२६ को दोस्रो भागमा ल्याउने लक्ष्य राखेको बताएका छन्। 

यस्तै मार्क गुर्मानका अनुसार फोन २०२६ को अन्त्यमा सार्वजनिक भए पनि यसको मुख्य बिक्री २०२७ मा हुन सक्छ। उत्पादन वा टिकाउपनसँग सम्बन्धित समस्या आएमा परियोजना २०२७ सम्म ढिलाइ हुन सक्ने सम्भावना पनि खुला रहेको बताइन्छ।

डिजाइनका हिसाबले एप्पलले बुक–स्टाइल फोल्डेबल डिजाइन अपनाउने सम्भावना रहेको छ, जुन सामसङ ग्यालेक्सी जेड फोल्ड जस्तै हुने अनुमान गरिएको छ। फोन खुलाउँदा सानो ट्याब्लेटजस्तो देखिने र भित्री स्क्रिन करिब ७.७–७.८ इन्चको हुने बताइन्छ। बन्द अवस्थामा भने बाहिरी डिस्प्ले करिब ५.५ इन्चको सामान्य स्मार्टफोन जस्तै हुने अपेक्षा गरिएको छ।

फोल्डेबल फोनको मुख्य चुनौती मानिने डिस्प्ले क्रिज (Fold Line) कम गर्न एप्पलले विशेष प्रविधि प्रयोग गर्ने तयारी गरेको बताइन्छ। रिपोर्टहरूका अनुसार डिस्प्ले आपूर्तिकर्ताका रूपमा सामसङ डिस्प्ले रहने सम्भावना छ। सीईएस २०२६ मा स्यामसङले प्रदर्शन गरेको लगभग क्रिज नदेखिने फोल्डेबल ओएलईडी प्यानल एप्पलले प्रयोग गर्न सक्ने चर्चा छ।

क्यामेरातर्फ फोनमा चार क्यामेरा सेटअप हुने अनुमान गरिएको छ, जसमा दुईवटा पछाडिका क्यामेरा, बाहिरी स्क्रिनमा एक सेल्फी क्यामेरा र भित्री स्क्रिनमा अन्डर–डिस्प्ले क्यामेरा हुन सक्छ। बायोमेट्रिक सुरक्षाका लागि एप्पलले फेस आईडीको सट्टा पावर बटनमा रहेको टच आईडी प्रयोग गर्ने सम्भावना पनि उल्लेख गरिएको छ।

फोनको टिकाउपन बढाउन एप्पलले हिन्जमा लिक्विड मेटल नामको बलियो धातु मिश्रण प्रयोग गर्न सक्ने बताइन्छ। साथै यसमा ५ हजारदेखि ५,८००mAh क्षमताको ब्याट्री, नयाँ ए सिरिज चिप र एप्पलको आफ्नै मोडेम प्रयोग हुने अनुमान गरिएको छ।

सफ्टवेयरतर्फ ठूलो स्क्रिनको फाइदा उठाउन एपहरू आईप्याड जस्तै लेआउटमा चल्ने र स्प्लिट–स्क्रिन प्रयोग गर्न सकिने बताइएको छ, जसले मल्टिटास्किङ अनुभव सुधार्ने अपेक्षा गरिएको छ।

मूल्यका हिसाबले भने फोल्डेबल आइफोन एप्पलको अहिलेसम्मकै सबैभन्दा महँगो आइफोन बन्न सक्ने देखिन्छ। विभिन्न विश्लेषकका अनुसार यसको मूल्य अमेरिकामा करिब २,००० देखि २,५०० डलरको बीचमा हुन सक्छ।

यद्यपि एप्पलले हालसम्म फोनको नाम, अन्तिम डिजाइन, सफ्टवेयर सुविधा वा सार्वजनिक मितिबारे कुनै आधिकारिक पुष्टि गरेको छैन। त्यसैले फोल्डेबल आइफोन बजारमा आउनुअघि यी धेरै विवरणहरू परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको छ।