काठमाडौं । निर्वाचन आयोग, नेपालले विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अवसर सुनिश्चित गर्ने विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल गरेको छ ।
आयोगले अन्तर निर्वाचन क्षेत्र (Out of Constituency Voting) तथा विदेशमा मतदान (Out of Country Voting) सम्बन्धी विभिन्न देशका अनुभव, प्रविधि र अभ्यासबारे जानकारी लिन कार्यक्रम आयोजना गरेको हो ।
निर्वाचन आयोगको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहजीकरणमा “Sharing of Knowledge Products on Electoral Reforms” नामक कार्यक्रम भदौ ४ गते आयोग परिसरमा सम्पन्न भएको हो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय निर्वाचन तथा प्रविधि विज्ञ Ms. Liisa Past र Mr. Steve Canham ले निर्वाचन सुधार, साइबर सुरक्षा, डेटा संरक्षण, निर्वाचन प्रविधि, मतदाता दर्ता, निर्वाचन व्यवस्थापन प्रणाली तथा विदेशमा रहेका मतदाताको मतदानसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणपछि सहभागीबीच प्रश्नोत्तर तथा छलफल समेत गरिएको थियो ।

कार्यक्रममा आयोगको तर्फबाट धारणा राख्दै निर्वाचन आयुक्त डा. राजीव सुब्बाले विदेशमा रहेका नेपाली नागरिक तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदातालाई मतदानको अवसर सुनिश्चित गर्न नेपाल अन्तत: इन्टरनेट भोटिङ (Internet Voting) को दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
उनले निर्वाचन व्यवस्थापनमा कुनै पनि परिवर्तन एकैपटक सम्भव नहुने उल्लेख गर्दै सुधारका लागि क्रमिक रूपमा अघि बढ्नुपर्ने बताए । त्यसका लागि आवश्यक कानुनी, संस्थागत, प्राविधिक तथा सुरक्षा पूर्वाधार तयार गर्नुका साथै सम्बन्धित सरोकारवालासँग समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।
“आवश्यक विधि, प्रविधि र व्यवस्थापकीय तयारीका लागि केही समय लागेपनि नेपालको निर्वाचन प्रणालीमा सुधारका लागि सूचना प्रविधिको प्रयोग गर्दै अघि बढ्नुको विकल्प छैन,” डा. सुब्बाले जोड दिए ।
उनका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियालाई थप पहुँचयोग्य र समावेशी बनाउन सकिने भएपनि यसको कार्यान्वयनमा साइबर सुरक्षा, डेटा संरक्षण, मतदाताको पहिचान तथा निर्वाचनको विश्वसनीयता जस्ता विषयलाई उच्च प्राथमिकता दिनुपर्ने हुन्छ ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, गुरु प्रसाद वाग्ले र डा. राजीव सुब्बाको उपस्थिति रहेको थियो । निर्वाचन आयोगका निमित्त सचिव नारायणप्रसाद भट्टराईले कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा निर्वाचन आयोग तथा UNDP का पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो । सहभागीहरूले विभिन्न मुलुकले निर्वाचनमा अपनाएका प्रविधि, विदेशमा रहेका मतदाताको मतदान व्यवस्था तथा निर्वाचन सुधारका अभ्यासबाट नेपालले आवश्यक सिकाइ लिन सक्ने धारणा व्यक्त गरेका थिए ।
नेपालको निर्वाचन प्रणालीलाई थप समावेशी, सुरक्षित, प्रविधिमैत्री, पारदर्शी र विश्वसनीय बनाउन यस्ता अन्तर्राष्ट्रिय ज्ञान तथा अनुभव आदानप्रदान महत्वपूर्ण हुने आयोगले जनाएको छ ।
आईसीटी समाचार