चीनको वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रमा रहेको डोङफेङको १६,००० टन क्षमताको डाइ–कास्टिङ कारखानाले आफ्नो पहिलो उत्पादन ‘ब्याट्री केसिङ’ सफलतापूर्वक उत्पादन गरेको छ। यससँगै डोङफेङले विश्वकै सबैभन्दा ठूलो १६,००० टन र १०,००० टन क्षमताका दुई डाइ–कास्टिङ उत्पादन लाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
उक्त कारखानाबाट उत्पादन हुने कम्पोनेन्टहरू आगामी अप्रिल महिनादेखि सामूहिक उत्पादनमा जाने अपेक्षा गरिएको छ। पहिलो चरणमा डोङफेङ eπ ००७, eπ ००८ तथा भोयाह ड्रीमर जस्ता नयाँ ऊर्जा सवारी साधन (NEV) मोडेलहरूमा यी कम्पोनेन्टहरू प्रयोग गरिनेछन्।
डोङफेङका अनुसार, यो कारखानाको मुख्य उद्देश्य नयाँ ऊर्जा सवारी साधनका लागि अल्ट्रा–लार्ज इन्टिग्रेटेड डाइ–कास्ट संरचनात्मक कम्पोनेन्टहरूको अनुसन्धान, विकास, उत्पादन तथा बिक्री गर्नु हो। विशेषगरी, पावर ब्याट्री प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिने ब्याट्री केसिङको उत्पादनमा यो कारखाना केन्द्रित रहनेछ।
परम्परागत निर्माण विधिको तुलनामा डाइ–कास्ट प्रविधिबाट बनेका ब्याट्री केसिङहरूले सवारी साधनको सुरक्षा स्तर वृद्धि गर्ने, तौल र ऊर्जा खपत घटाउने तथा ड्राइभिङ रेन्ज विस्तार गर्न सहयोग गर्ने डोङफेङले जनाएको छ।
४७,००० वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस कारखानाको निर्माण कार्य नोभेम्बर २०२४ मा सुरु गरिएको थियो भने मुख्य उत्पादन भवन अगस्ट २०२५ मा सम्पन्न भएको हो। करिब १ अर्ब युआन (झण्डै १४३.६ मिलियन अमेरिकी डलर) लगानीमा निर्माण गरिएको यस कारखानामा हाल १६,००० टन र १०,००० टन क्षमताका डाइ–कास्टिङ मेसिनहरू जडान गरिएका छन्। वर्तमान अवस्थामा कारखानाको वार्षिक उत्पादन क्षमता २ लाख अटोमोबाइल कम्पोनेन्ट रहेको छ।
डोङफेङले दोस्रो चरणमा थप चार उत्पादन लाइन निर्माण गर्ने योजना बनाएको छ। उक्त चरण सम्पन्न भएपछि कारखानाको कुल वार्षिक उत्पादन क्षमता ६ लाख युनिटसम्म पुग्ने अपेक्षा गरिएको छ।
उल्लेखनीय रूपमा, १६,००० टन क्षमताको डाइ–कास्टिङ मेसिन चीनमै डिजाइन तथा निर्माण गरिएको हो, जसका कारण यो उद्योगकै सबैभन्दा ठूलो इन्टिग्रेटेड डाइ–कास्टिङ कारखानाका रूपमा स्थापित भएको छ।
प्रविधिगत रूपमा, १०,००० टन क्षमताको डाइ–कास्टिङ मेसिनमा एक चलायमान (मुभिङ) र एक स्थिर (स्टेसनरी) मोल्ड प्रयोग गरिएको छ। करिब ७२० डिग्री सेल्सियस तापक्रमको पग्लिएको एल्युमिनियम मोल्डभित्र इन्जेक्ट गरिएपछि, केवल दुई मिनेटभित्रै ब्याट्री ट्रे र ब्याट्री केसिङ आवश्यक आकारमा डाइ–कास्ट गरिने डोङफेङले जानकारी दिएको छ।
आईसीटी समाचार