काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी साधन पार्किङ उल्लंघन तथा नगर प्रहरीसम्बन्धी कारबाहीलाई थप व्यवस्थित र सहज बनाउन ई-चलान प्रणाली सञ्चालनमा ल्याएको छ ।
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सोमबार आयोजित ई-चलान शुभारम्भ कार्यक्रममा प्रविधिमैत्री सेवा विस्तार गर्ने क्रममा नयाँ प्रणाली लागू गरिएको जानकारी दिए ।
उनका अनुसार अब सेवाग्राहीले जरिवाना तिर्नका लागि सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता हट्नेछ । ई–चलान प्रणालीमार्फत क्यूआर कोड प्रयोग गरी सहज रूपमा जरिवाना भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
मेयर महर्जनले ललितपुर महानगरले विगतदेखि नै नवीन प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको उल्लेख गरे । उनले स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटजस्ता प्रविधि प्रयोगमा ल्याइसकेको बताउँदै अब ई–चलान प्रणाली पनि थपिएको बताए ।
कार्यक्रममा उनले नगर प्रहरी प्रमुखको पहलमा ट्रिलिफ टेक्नोलोजीका प्रतिनिधिसँगको सहकार्यमा प्रणाली विकास गरिएको जानकारी दिए । ‘सेवाग्राहीलाई सहज सेवा दिने उद्देश्यले यो प्रणाली ल्याइएको हो । यसको प्रभावकारिता आगामी दिनमा देखिनेछ,’ उनले भने ।
आईसीटी समाचार