सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स र काठमाडौँ विश्वविद्यालयको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको सहकार्यमा आगामी जनवरी २२ र २३ मा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट प्रदर्शनी (इपेक्स) आयोजना हुने भएको छ ।
काठमाडौँ विश्वविद्यालयको धुलिखेल क्याम्पसमा हुने कार्यक्रममा यस वर्षको थिम ‘इंगेज, एलिभेट र एक्जिक्युट’ रहेको छ । यस वर्षको इपेक्समा ४० भन्दा बढी प्रोजेक्ट स्टलहरू हुनेछन्, जसमा इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, सूचना तथा सञ्चार प्रविधि र ऊर्जा क्षेत्रमा विद्यार्थीहरुले गरेको नवीनतम सोचहरु प्रस्तुत गरिनेछ । प्रोजेक्ट प्रदर्शनी प्रतियोगिता यस कार्यक्रमको प्रमुख आकर्षण हुनेछ, जसमा नेपालभरका इन्जिनियरिङ विद्यार्थीहरूले स्मार्ट अटोमेशन सिस्टमहरू देखि दिगो ऊर्जा समाधान सम्मका नवीन परियोजनाहरू प्रस्तुत गर्नेछन् ।
साथै जनवरी १९ र २० प्रिइभेन्टको रूपमा हार्डवेयर ह्याक्याथन पनि हुनेछ । यस प्रतियोगीतामा सहभागीहरूले वास्तविक जीवनका समस्याहरूको समाधान खोज्ने प्रयास गर्नेछन् ।
यस कार्यक्रमको अर्को आकर्षण रोबोटिक्स प्रतिस्पर्धाहरु हुनेछ, जसमा लाइन फलोइङ रोबोट च्यालेन्ज, रोबो सकर, आक्वा सुमो, र रोबो सुमो जस्ता प्रतियोगिताहरू समावेश गरिनेछन् । यी प्रतिस्पर्धाहरूले सहभागीहरूको प्राविधिक सीप र समस्या समाधान क्षमतालाई प्रदर्शन गर्नेछन् भने गेमिङप्रेमीहरूको लागि भ्यालोरेन्ट, फिफा र क्ल्यास रोयल जस्ता ई-स्पोर्ट्स प्रतियोगिताहरू तथा ह्वाट्स द क्लु नामक रोमाञ्चक ट्रेजर हन्ट प्रतियोगिता पनि समावेश गरिएको छ ।
यसमा प्राविधिक क्षेत्रमा नेतृत्व, इन्जिनियरिङ् र प्रविधिको भविष्यबारे छलफल समेत हुनेछ । प्यानलमा रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष इन्जिनियर विकाश गुरुङ, के एण्ड ए इन्जिनियरिङ कन्सल्टिङका प्रोजेक्ट म्यानेजर प्रबल भट्टराई, नेपाल टेलिकमकी पूर्व सीटीओ तथा निर्देशक मिनु प्रधान, र पुल्चोक क्याम्पसका सह-प्राध्यापक डा. बसन्त गौतम हुनेछन् । कार्यक्रममा अनलाइन संगीत प्रतियोगिता, चेस प्रतियोगिता, र बहुप्रतीक्षित एकोस्टिक नाइट जस्ता गतिविधिहरू पनि हुने बताइएको छ ।
इपेक्सले प्रि-ईभेन्टको रुपमा सर्किट डिजाइनिङ प्रतियोगिता, सी लिड्स, मोडेल कार र लाइन फलोइङ रोबोटको प्रशिक्षण र एआई सेसन जस्ता विभिन्न प्रभावकारी प्रि-ईभेन्टहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।