कीवर्डहरू -

बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना, एपबाटै हात्ती कहाँ छ भन्ने थाहा हुने

बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना, एपबाटै हात्ती कहाँ छ भन्ने थाहा हुने

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मेचीनगर–४ स्थित बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका छन्। केन्द्रमा ‘जिपिएस एप्स’को माध्यमबाट जानकारी सङ्कलन हुनेछ ।

भारतबाट नेपाल प्रवेश गरेको हात्ती कुन गाउँमा डुलिरहेको छ भन्ने सूचना दिने प्रणाली सञ्चालनका लागि केन्द्र स्थापना गरिएको हो । बाहुनडाँगीस्थित छोटी भन्सारमा सो प्रविधि जडान गरिएको हो ।

सभामुख घिमिरेले डिजिटल माध्यमबाट केन्द्रको उद्घाटन गर्दै हात्ती छेक्न लगाइएको विद्युतीय घेरबारले मात्र हात्तीको क्षति रोक्न नसकिरहेका बेला यो प्रविधिको सहयोगले मानव–हात्ती द्वन्द्व न्यून गर्न सहयोग पुग्ने बताए। विगतमा जस्तो हात्तीलाई तर्साउने, लखेट्ने र गोली हान्ने कार्यले नियन्त्रण नहुने प्रमाणित भइसकेको हुँदा सहअस्तित्वका आधारमा मानव–हात्ती द्वन्द्वको दिगो समाधान खोज्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

बर्दियाको ‘उज्यालो नेपाल’ र ‘समाजका लागि युवा सहकार्य’ धनगढीको सहयोगमा नेपालमै पहिलोपल्ट ‘लुना जिपिएस’ नामक मोबाइल एप्लिकेसनमार्फत हात्ती आगमनको सूचना सङ्कलन गर्ने प्रविधि झापामा भित्र्याइएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए। उनका अनुसार कुनै गाउँमा हात्ती प्रवेश गरेको भए सर्वसाधारणले उक्त एप्समार्फत घटनाको जानकारी दिन सक्छन् ।

एप्समा जानकारी राख्नासाथ कन्ट्रोल कक्षमा रहेको साइरन स्वतः बज्ने व्यवस्था मिलाइएको छ। एप्समा प्रविष्ट जिपिएस ठेगानाका आधारमा स्थानीय द्रुत उद्धार समूह (आरआरटी)का कार्यकर्ता स्थानीयवासीको सुरक्षाका लागि हात्ती रहेको गाउँमा पुग्ने व्यवस्था मिलाइएको वडाध्यक्ष कार्कीले बताए।

उज्यालो नेपालका विज्ञ रमेश थापाले हात्तीले गाउँमा पसेर मानवीय क्षति गर्न नपाओस् भनेर बेलैमा उद्धार टोलीसमक्ष जानकारी पुर्याउन लुना जिपिएस प्रभावकारी माध्यम बन्ने बताए। इसिमोडले लुना जिपिएस एप्स निर्माणमा आर्थिक सहयोग पुर्याएको बताइएको छ।

एप्स निर्माणमा रु १० लाख खर्च भएको वडाध्यक्ष कार्कीले बताए। हात्ती मात्र नभएर कुनै पनि विपद्का बेला यो एप्स बढी उपयोगी हुने भन्दै उनले हाललाई परीक्षणका रुपमा हात्तीपीडित मेचीनगरवासीका लागि प्रयोगमा ल्याइएको बताए।

सर्वसाधारणले हात्ती गाउँ पसेको सूचना दिनासाथ घटनाको जानकारी नजिकको प्रहरीकहाँ समेत पुर्याइने भएकाले हात्तीबाट हुनसक्ने मानवीय वा भौतिक क्षति न्यून गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। हात्ती आगमन सूचना प्रविधि जडान गरिएको बाहुनडाँगी क्षेत्र भारतबाट नेपालमा हात्तीको बथान प्रवेश गर्ने मुख्य गौडा हो । यहाँबाट एकैपटक एक सयसम्म जङ्गली हात्ती नेपाल प्रवेश गर्छन् ।