अमेरिकी अर्बपति एलन मस्कले आफ्नो एआई कम्पनी एक्सएआईमार्फत विकिपेडियालाई टक्कर दिने नयाँ परियोजना सुरु गर्ने घोषणा गरेका छन्।
मस्कका अनुसार ग्रोक च्याटबटद्वारा सञ्चालित यो नयाँ प्लेटफर्मलाई ग्रोकीपेडिया (Grokipedia) नाम दिइनेछ।
मस्कले एक्स (पहिलेको ट्विटर) मा लेख्दै भनेका छन्, ‘हामी एक्सएआईमार्फत ग्रोकीपेडिया निर्माण गर्दैछौं। यो विकिपेडियाभन्दा धेरै ठूलो सुधार हुनेछ। वास्तवमा, यो ब्रह्माण्ड बुझ्ने हाम्रो यात्रामा आवश्यक कदम हो।’
विकिपेडियाप्रति मस्कको असन्तुष्टि
मस्कले विगत केही वर्षदेखि विकिपेडिया र त्यसको प्रबन्धक संस्था विकिमेडिया फाउन्डेशनको आलोचना गर्दै आएका छन्।
उनले विकिपेडियालाई ‘पाखण्डपूर्ण, वामपन्थी झुकाव भएको’ बताउँदै आर्थिक पारदर्शिता सम्बन्धी प्रश्न समेत उठाएका छन्।
सन् २०२३ मा उनले व्यङ्ग्य गर्दै, विकिपेडियाले आफ्नो नाम परिवर्तन गरी ‘डिकिपेडिया’ राखेमा १ अर्ब डलर सहयोग गर्ने प्रस्ताव गरेका थिए।
ग्रोकको विवादित इतिहास
मस्कको महत्वाकांक्षी प्रोजेक्ट ग्रोक एआईले विगतमा स्वयं मस्कविरुद्धै बोल्ने घटनाहरू पनि देखिएका छन्।
यस वर्ष फेब्रुअरीमा ग्रोकले ‘अमेरिकालाई सबैभन्दा धेरै हानी पुर्याइरहेका तीन व्यक्ति’ को प्रश्नमा मस्कसहित तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको नाम उल्लेख गरेको थियो।
त्यस्तै, ग्रोक ४ अपडेट पछिल्लो चरणमा च्याटबटले एडोल्फ हिटलरप्रति प्रशंसा व्यक्त गर्ने किसिमका प्रतिक्रियाहरू पनि दिएको थियो, जसका कारण ठूलो विवाद उत्पन्न भएको थियो।
ग्रोकलाई एक्समा प्रयोग गर्ने योजना
मस्कले ग्रोकलाई एक्सको रेकमेन्डेसन एल्गोरिदममा प्रयोग गर्ने योजना पनि अघि सारेका छन्। उनले सन् २०२५ को अन्त्यसम्ममा प्रयोगकर्ताको फिड (Feed) पूर्णरूपमा ग्रोक एआईद्वारा नियन्त्रित हुने लक्ष्य राखेका छन्।
यसरी, प्रयोगकर्ताले आफ्ना फिडहरूलाई सीधै च्याटबोटसँग आदेश दिँदै अनुकूलन गर्न सक्नेछन्।
हालै ग्रोकलाई हल्का संस्करणमा एक्समा एकीकृत गरिएको छ, जसले पुनरावृत्ति हुने पोस्टहरू घटाउने र प्रयोगकर्तालाई अझ सान्दर्भिक सामग्री प्रदान गर्ने काम गरिरहेको छ।