खर्बपति एलन मस्कले एआई (कृत्रिम बुद्धिमत्ता)द्वारा संचालित नयाँ अनलाइन इन्साइक्लोपिडिया ग्रोकीपिडिया (Grokipedia) सार्वजनिक गरेका छन् ।
विकिपिडियालाई चुनौती दिने गरी मस्कले ग्रोकीपिडिया ल्याएका हुन् । मस्कका अनुसार यो प्लेटफर्म उनको संरक्षणवादी राजनीतिक दृष्टिकोणसँग नजिक रहने गरी डिजाइन गरिएको छ ।
गत महिनामात्र मस्कले आफ्ना मित्र तथा ट्रम्प प्रशासनका एआई र क्रिप्टो सिझार डेभिड स्याक्सको सुझावपछि विकिपिडियाको विकल्प विकास गर्ने घोषणा गरेका थिए । विकिपिडियालाई ‘वोक’ भनेर आलोचना गर्दै उनले द न्यूयोर्क टाइम्स र एनपीआरजस्ता समाचार स्रोतलाई अत्यधिक प्राथमिकता दिएको बताएका थिए ।
मस्कले एक्समा लेख्दै भनेका छन्, ‘एआईद्वारा सञ्चालित विश्वकोश सभ्यताको लागि अत्यन्तै महत्वपूर्ण हुनेछ र ब्रह्माण्ड बुझ्ने दिशामा आवश्यक कदम हो ।’
ग्रोकीपिडिया र विकिपिडियाबीचको मुख्य भिन्नता यसको सञ्चालन प्रणालीमा छ। विकिपिडियामा स्वयंसेवकहरूले सामग्री लेख्ने र सम्पादन गर्ने गर्छन् भने, ग्रोकीपिडियाका लेखहरू मस्कको एआई च्याटबोट ग्रोक द्वारा ‘तथ्य-जाँच’ गरिएको बताइएको छ। प्रयोगकर्ताले सिधै सम्पादन गर्न भने पाउँदैनन्, तर त्रुटि रिपोर्ट गर्ने फर्ममार्फत सुझाव दिन सक्छन्।
प्रारम्भिक चरणमा ग्रोकीपिडियाका केही पृष्ठहरूमा सामग्री विकिपिडियाबाट रूपान्तरित गरिएको उल्लेख छ। ‘यो सामग्री क्रिएटिभ कमन्स एट्रिब्युसन–शेयरअलाइक ४.० लाइसेन्स अन्तर्गत विकिपिडियाबाट लिइएको हो,’ भन्ने अस्वीकरण केही पृष्ठहरूमा देखिन्छ।
केही सामग्री त शब्दशः विकिपिडियासँग मिल्दोजुल्दो पनि छन्। मस्कले भने यस वर्षको अन्त्यसम्म ग्रोकले विकिपिडियालाई स्रोतका रूपमा प्रयोग गर्न बन्द गर्ने बताएका छन्।
तर दुवै प्लेटफर्मबीच सामग्रीगत भिन्नता पनि देखिएको छ। उदाहरणका लागि, ग्रोकीपिडियाको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसम्बन्धी पृष्ठमा उनको कतारबाट प्राप्त लक्जरी मेगाजेट वा ट्रम्प–थीम क्रिप्टोकरेन्सी टोकनबारे कुनै उल्लेख छैन, जुन विकिपिडियामा विस्तारमा समेटिएको छ।
त्यस्तै, मस्कको आफ्नै पृष्ठमा जनवरीमा भएको विवादास्पद नाजी सलाम जस्तो देखिने हावभावको उल्लेख पनि हटाइएको छ।
विकिमिडिया फाउन्डेशनले भने ग्रोकीपिडियाको कार्यविधि बुझ्ने प्रक्रिया अघि बढाएको जनाएको छ। संस्थाले विज्ञप्तिमा भनेको छ — विकिपिडियाको ज्ञान सधैं मानवीय रहनेछ। विविध पृष्ठभूमिका मानिसहरूले सहकार्य र सहमतिको माध्यमबाट एउटा निष्पक्ष र जीवित ज्ञानको भण्डार निर्माण गर्छन्, जसमा एआई प्रणालीहरू समेत निर्भर छन् ।
यो परियोजनाले विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कलाई इन्टरनेटको सबैभन्दा लोकप्रिय साइटमध्ये एक विकिपिडियासँग सीधा प्रतिस्पर्धामा ल्याएको छ। विकिपिडिया हाल विश्वव्यापी रूपमा नवौं स्थानमा छ भने यसको अंग्रेजी संस्करणमा ७.१ मिलियनभन्दा बढी लेखहरू छन्। यसको विपरीत, ग्रोकीपिडियामा हाल ८ लाख ८५ हजार लेखहरू उपलब्ध छन् र प्लेटफर्मलाई ‘संस्करण ०.१’ भनेर चिनाइएको छ, जसको अर्थ अझ धेरै अद्यावधिकहरू आउँदै छन्।
सन् २००१ मा जिमी वेल्स र लेरी साङ्गरले स्थापना गरेको विकिपिडिया अझै पनि नाफारहित, विज्ञापनरहित र स्वयंसेवकद्वारा सञ्चालित विश्वकोश हो। तर साङ्गरले लामो समयदेखि विकिपिडियाको वामपन्थी झुकाव र गुमनाम सम्पादकहरूको प्रयोगबारे आलोचना गर्दै आएका छन्।
आईसीटी समाचार