टेस्लाका शेयरधनीहरूले प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर बनाउने सम्भावना रहेको क्षतिपूर्ति योजना पारित गरेका छन् ।
गत सेप्टेम्बरमा प्रस्ताव गरिएको यो ‘अल-ओर-नथिङ’ (सबै या केही पनि होइन) प्याकेजलाई टेस्लाका शेयरधनीहरूले अनुमोदन गरेका हुन् ।
यस योजनाअन्तर्गत मस्कले अर्बौं डलर बराबरको प्रोत्साहन पाउने छन्, तर त्यसका लागि टेस्लाले कडा वित्तीय र प्राविधिक लक्ष्यहरू हासिल गर्नुपर्नेछ ।
कम्पनीको बजार मूल्य हालको करिब १.४ ट्रिलियन डलरबाट बढेर ८.५ ट्रिलियन डलरसम्म पुग्नुपर्नेछ । त्यसबाहेक, टेस्लाले मानव-सदृश (ह्युम्यानोइड) विशेषतायुक्त १० लाख रोबोट बिक्री गर्नुपर्ने र भविष्यको उत्तराधिकारी योजना तय गर्नुपर्ने सर्तहरू पनि छन् ।
एलन मस्क हाल स्पेसएक्स र एक्स एआई जस्ता अन्य कम्पनीहरूमा पनि व्यस्त छन्, जसका कारण यो योजना टेस्लातर्फ उनको ध्यान केन्द्रित गराउने प्रयासका रूपमा हेरिएको छ ।
तर हालसालै टेस्ला सकारात्मक भन्दा नकारात्मक कारणले बढी चर्चामा रहेको छ । कम्पनीले तेस्रो त्रैमासिकमा रेकर्ड आम्दानी गरे पनि मुनाफा घटेको छ । अघिल्लो अक्टोबर महिनामै कम्पनी अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (NHTSA) का विभिन्न अनुसन्धानमा पर्यो र क्यालिफोर्निया बीमा विभागको निगरानीमा समेत परेको थियो ।
आईसीटी समाचार