विश्वप्रसिद्ध प्रविधि उद्यमी एलन मस्कले अबको २० वर्षभित्रमा मानिसहरूका लागि काम अनिवार्य नभइ वैकल्पिक हुने बताएका छन् ।
जेरोधाका सह-संस्थापक निखिल कामथसँगको पडकास्ट ‘People by WTF’ मा बोल्दै मस्कले एआई र रोबोटिक्सको विकासले भविष्यमा काम अनिवार्य नभइ वैकल्पिक हुने बताएका हुन् ।
‘अबको २० वर्षभन्दा कम समयमा काम गर्नु ऐच्छिक (वैकल्पिक) हुनेछ । यो भविष्य टाढा छैन। काम गर्नु पूर्ण रूपमा ऐच्छिक हुनेछ। लगभग शोक जस्तै हुनेछ,’ उनले भने, ‘२० वर्षभन्दा कम समयमा, सम्भवतः १०–१५ वर्षमै एआई र रोबोटिक्सको प्रगतिले हामीलाई यस्तो अवस्थामा पुर्याउनेछ जहाँ काम गर्नु पूर्ण रूपमा शोक जस्तै हुनेछ।’
आफ्नो भनाइलाई अझै प्रष्ट पार्न मस्कले भविष्यको कामलाई घरमा तरकारी उमार्ने वा पसलबाट किन्ने विकल्पसँग तुलना गरेका थिए ।
‘जसरी तपाईं आफ्नै बगैंचामा तरकारी उमार्न सक्नुहुन्छ वा पसलबाट किनमेल गर्न सक्नुहुन्छ, काम पनि त्यस्तै हुनेछ। आफ्नै तरकारी उमार्नु अलि कठिन छ, तर केहि मानिसहरूले यसलाई रमाइलो मान्छन्, जुन ठीकै छ। तर यो ऐच्छिक हुनेछ, र भविष्यमा म यसरी कामलाई हेर्छु,’ मस्कले भने ।
प्रविधिको प्रगतिले सबैका लागि वस्तु र सेवा भविष्यमा सजिलै उपलब्ध गराउन सक्ने उनको भनाइ छ ।
‘यदि एआई र रोबोटिक्सको क्षेत्रमा यसरी नै तीव्र रूपमा प्रगति भइराख्यो भने काम गर्नु ऐच्छिक हुनेछ र मानिसहरूले आफूले चाहेको कुनै पनि वस्तु र सेवा पाउन सक्नेछन्। यदि तपाईं सोच्न सक्नुहुन्छ भने, तपाईं पाउन सक्नुहुन्छ,’ मस्क भन्छन् ।
एआईले उत्पादन, ढुवानी, स्वास्थ्य सेवा र सिर्जनात्मक सेवामा नयाँ क्रान्ति ल्याउने मस्कको विश्वास छ । मस्कका अनुसार एआई प्रणालीहरूले अन्ततः व्यक्तिले कल्पना गर्न सक्ने सबै कुरा उत्पादन गर्न सक्नेछन्।
पैसाको आवश्यकता नपर्ने
एआई र ह्युम्यानोइड रोबोटले गरिबी अन्त्य गर्न सक्ने मस्कको दावी छ । ‘जब मेसिनहरूले वस्तु उत्पादन गर्न सक्नेछन्, सम्पत्ति सबैका लागि समान उपलब्ध हुनेछ। यस अवस्थामा आम्दानी, स्रोत र अवसरको लागि परम्परागत आर्थिक संघर्ष समाप्त हुनेछ।’
मस्कले अझै अगाडि गएर भविष्यमा पैसाको महत्व कम हुने सम्भावना समेत उल्लेख गरेका छन् । उनका अनुसार, पैसा मुख्यतया श्रम वितरण र उत्पादनको मूल्य निर्धारणका लागि प्रयोग हुने उपकरण हो। जब उत्पादन पूर्णतया स्वतः र असीमित हुन्छ, पैसा आवश्यक हुँदैन।
मस्कले यस्तो विश्वमा मूल्यको मुख्य आधार ऊर्जा उत्पादन बन्न सक्ने बताए। किनभने मसिनहरूलाई काम गर्न, सिर्जना गर्न र मानव जीवनलाई समर्थन गर्ने प्रणाली चलाउन ऊर्जा आवश्यक हुन्छ। यस प्रकारको अर्थतन्त्र श्रम वा उत्पादनका वस्तु भन्दा ऊर्जा क्षमतामा आधारित हुनेछ।
आईसीटी समाचार