तारकेश्वर नगरपालिका तथा नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपालमै पहिलो पटक प्रविधिमा आधारित ‘अत्याधुनिक इमरजेन्सी रेस्पोन्स कन्सोल’ जडान भएको छ ।
तारकेश्वर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बासिन्दाहरुले कुनै विपत्ति परेमा निःशुल्क प्रयोग गर्न मिल्ने कताहो एपमार्फत आफुलाई परेको स्वास्थ सहायता, सुरक्षा सहायता तथा आगलागीमा नगरपालिकालाई तत्काल सूचना दिन सक्ने छन् । यसको माध्यमबाट आएको सूचनाको आधारमा स्थान पहिचान गरी आपतकालिन उद्धारको टोली सम्बन्धित व्यक्ति वा स्थानमा पुग्न सकिने छ ।
यसका अलावा यस प्रणालीको नागरिक आँखा नामक सेवा मार्फत स्थानीय तहले गरेका कामहरुको प्रशंसा समेत गर्न सकिने छ । नगरपालिकाले गर्नु पर्ने कार्यहरुको बारेमा आम नागरिकले सेवा प्रवाहको विषयमा तथा पालिकाभित्रका समस्या, विकाश निर्माण लगायतका कुराहरुमा सूचना तथा गुनासो गर्न सक्नेछन् । यसको प्रयोगले आम मानिसमा सचेतना सँगसँगै जनप्रतिनिमा उत्तरदायित्व समेत बोध गराउने र आम जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूती दिने अपेक्षा गरिएको छ ।
अत्याधुनिक इमरजेन्सी रेस्पोन्स कन्सोल उद्घाटन कार्यक्रममा नगर प्रमुख कृष्णहरी महर्जनज्यू ले राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा यो उपकरणको उद्घाटन गरी नेपालमै पहिलो पटक शुरुवात गर्न पाउँदा अत्यन्तै गर्व लागेको बताए ।
विपतको समयमा हुनसक्ने क्षतीलाई न्यूनिकरण गर्नको लागि यसको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । आपतकालिन अवस्थामा मात्र नभएर नगरपालिका भित्र रहेका विभिन्न सेवा सुविधाहरुलाई समेत यसको प्रयोगले चुस्त दुरुस्त बनाउन सक्ने देखिएको हुँदा सेवा प्रवाहमा समेत यसले सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ ।
उनका अनुसार घोषणापत्रमा समेत समावेस भएको घर ठेगाना, टोल, ब्लक, घर नम्बर जस्ता सेवाहरु समेत अबिलम्ब लागु गर्दै जाने तयारी गरिएको छ । कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगर प्रहरी लगायतको उपस्थिति थियो ।
नेपालमा विभिन्न प्रविधिहरुको अनुसन्धान र विकास गर्दै आएका नेपालका चर्चित अनुसन्धानकर्ता राम लक्ष्मण रिमालले विकाश गरेको यस प्रणालीको बारेमा उनीहरूबाटै अभिमुखिकरण तालिम समेत प्रदान गरिएको थियो ।