ईसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाजुराको पार्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरू व्यक्तिहरूको उपस्थितिमा पार्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् ।
शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा विद्यालयलाई आवश्यक शैक्षिक सामग्री, पुस्तकलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै ग्रामीण क्षेत्रमा शिक्षा र प्रविधिको विकासमा योगदान पुर्याइने प्रतिबद्धता जनाएका थिए ।
वि.सं. २०३९ सालमा स्थापना भएको, मुलुकको अति विकट र पिछडिएको जिल्ला बाजुराको त्रिवेणी नगरपालिका-९ मा अवस्थित श्री पार्वती माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन्। साथै, सी.टी.ई.भी.टी. बाजुराबाट मान्यता प्राप्त यस विद्यालयमा सिभिल इन्जिनियरिङका विद्यार्थीहरू पनि अध्ययनरत छन्। ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलीसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। इसेवा वालेट, बैंक तथा वित्तीय संस्था, र आफ्ना भुक्तानी केन्द्रहरूमार्फत सेवा दिने यो कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गतको भगिनी संस्था हो, जसले नेपालभर फिनटेकमा आधारित भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै आएको छ।