कीवर्डहरू -

एक वर्षमै इसेवाको आम्दानी २१ अर्ब, नाफा ४५ करोड, दक्षिण एशियामा फैलिने योजना

कति छ सीईओको तलब ?

एक वर्षमै इसेवाको आम्दानी २१ अर्ब, नाफा ४५ करोड, दक्षिण एशियामा फैलिने योजना

नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आर्थिक वर्ष २०८१/८२ मा आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि गरेको छ।

इसेवाको वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीले कुल २१ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको छ भने खुद नाफा ४५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा सबैभन्दा ठूलो योगदान फन्ड ट्रान्सफर सेवाको रहेको छ। यो सेवाबाट मात्र ५२ करोड रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा इसेवामार्फत ३१ करोड रुपैयाँभन्दा बढी डिजिटल कर्जा प्रवाह गरिएको छ।

निरन्तर बढ्दो आम्दानी र नाफा

पछिल्ला वर्षहरूमा इसेवाको आम्दानी निरन्तर वृद्धि हुँदै आएको छ। आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको इसेवाले २०८०/८१ मा १६ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको थियो। पछिल्लो आर्थिक वर्षमा आम्दानी २६ प्रतिशतले वृद्धि हुँदै २१ अर्ब रुपैयाँ नाघेको हो।

स्रोतः इसेवाको वार्षिक प्रतिवेदन

नाफातर्फ पनि स्थिर सुधार देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा २४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको इसेवाले २०८०/८१ मा ३५ करोड ८३ लाख रुपैयाँ नाफा गरेको थियो। २०८१/८२ मा भने नाफा बढेर ४५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

प्रयोगकर्ता, कारोबार र मर्चेन्ट नेटवर्क विस्तार

इसेवाका प्रयोगकर्ताको संख्या पनि तीव्र रूपमा बढिरहेको छ। आर्थिक वर्ष २०८१/८२ सम्ममा इसेवाका प्रयोगकर्ता झण्डै १ करोड १० लाख पुगेका छन्।

त्यसैगरी, २०८२ असार २७ गते एकै दिनमा २ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

स्रोतः इसेवाको वार्षिक प्रतिवेदन

मर्चेन्ट नेटवर्कमा पनि उल्लेखनीय विस्तार देखिएको छ। गत आर्थिक वर्षसम्म इसेवामा आबद्ध मर्चेन्टको संख्या ५ लाख ६१ हजार पुगेको छ।

दक्षिण एशियामा विस्तारको योजना

पछिल्लो समय इसेवा नेपाल बाहिर पनि विस्तार हुने रणनीतिमा केन्द्रित देखिएको छ। कम्पनीले रेमिट्यान्स सेवालाई डिजिटल वालेटसँग एकीकृत गरिसकेको छ भने क्रस–बोर्डर भुक्तानीका लागि विभिन्न फिनटेक नेटवर्क र वित्तीय संस्थासँग सहकार्य गर्ने योजना अघि सारेको छ।

दक्षिण एशियाली बजारलाई लक्षित गर्दै जोइन्ट फिनटेक भेञ्चरमार्फत इसेवाको प्रविधि र व्यवसायिक मोडल निर्यात गर्ने तयारी पनि भइरहेको छ।

स्रोतः इसेवाको वार्षिक प्रतिवेदन

‘सबै, सधैं र सँगै’ भन्ने बाँचासहित अघि बढिरहेको इसेवामा आर्थिक वर्ष २०८१/८२ सम्म ग्राहकको जम्मा रकम ७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा निरन्तर बढ्दो क्रममा छ।

सीईओको पारिश्रमिक

इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले आर्थिक वर्ष २०८१/८२ मा तलब तथा भत्ताबापत कुल १ करोड १६ लाख रुपैयाँ पारिश्रमिक प्राप्त गरेका छन्।

उनी २०७९ साल असोज १२ गतेदेखि चार वर्षका लागि इसेवाको सीईओमा नियुक्त भएका हुन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उनले तलब तथा भत्ताबापत १ करोड ५ लाख रुपैयाँ प्राप्त गरेका थिए।