कीवर्डहरू -

जनजागृति माध्यमिक विद्यालयमा दुई दिने खगोल विज्ञान कार्यशाला सम्पन्न

जनजागृति माध्यमिक विद्यालयमा दुई दिने खगोल विज्ञान कार्यशाला सम्पन्न

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजना र सामाजिक विकास मन्त्रालयको सहयोगमा खगोल तथा अन्तरिक्ष विज्ञान विकास परियोजना अन्तर्गत सोलुदुधकुण्ड नगरपालिका, वडा नं ५ स्थित जनजागृति माध्यमिक विद्यालयमा दुई दिने खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ।

दुई दिने कार्यशालामा विद्यार्थीहरुमाझ खगोल विज्ञानको अवधारणा विकास गर्दै स्थानीयस्तरमा खगोल विज्ञानले थप्न सक्ने विभिन्न आयामहरुमाथि छलफल गरिएको छ । कार्यक्रमको उद्घाटन-सत्र नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईज्युको अध्यक्षता र शिक्षा विकास तथा समन्वय इकाइ, सोलुखुम्बुका इकाई प्रमुख पुण्य राज डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा आफ्ना विचार राख्दै कार्यक्रमका अध्यक्षले स्थानीयहरुमा खगोल तथा अन्तरिक्ष विज्ञानको चेतना विकास गर्दै सोलुखुम्बुमा खगोल पर्यटनको नव संभावनाहरुमाथि प्रकाश पारेका थिए । त्यसै गरी प्रमुख अतिथि पुण्य राज डंगोलले नगरपालिकाको सामाजिक विकासका लागि खगोल विज्ञान नयाँ आयाम हुन सक्ने र शैक्षिकस्तरबाट उक्त विषयलाई अनुसरण गर्न निकै सकारात्मक रहेको बताए ।

कार्यक्रमको पहिलो दिन, खगोल विज्ञान, रात्री आकाश र नक्षत्रहरु, उपग्रह र भू-उपग्रह, प्रकाश प्रदूषण र त्यसको निराकरण जस्ता विविध विषय बारे विद्यार्थीलाई अन्तरक्रियात्मक ढङ्गले कार्यशाला सम्पन्न भएको थियो । 

कार्यक्रमको दोश्रो दिन टेलिस्कोप, सौर्यघडी, प्लानिस्फेयर, भी-आर बक्स, सौर्य अवलोकन चस्मालाई प्रयोगमा ल्याउँदै विद्यार्थीहरूलाई  त्यस बारे प्रशिक्षण गरिएको कुरा खगोल तथा अन्तरिक्ष विज्ञान विकास परियोजनाका संयोजक ओशन शर्मा कट्टेलले जानकारी दिए ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका ४ वटा विद्यालयबाट ५० जना विद्यार्थीहरु तथा सम्बन्धित विद्यालय बाट विज्ञान शिक्षकहरूको सहभागी भएको थियो। कार्यक्रमको समापन समारोहमा बोल्दै पुण्य राज डंगोलले विद्यार्थीहरूलाई विज्ञानको विषयमा चासो लिएर पढाईमा अब्बल हुन प्रेरणा दिएका थिए ।

उनले कार्यशालामा सिकेको कुरालाई अध्ययनशील ढंगले आफ्नो पढाईको उन्नतिमा लगाउन पनि विद्यार्थीहरूलाई आग्रह गरेका थिए । प्रतिनिधि विद्यार्थीहरूले आफ्नो अनुभव सुनाउँदै कार्यक्रम निकै ज्ञानमुलक तथा अन्तरक्रियात्मक भएको, किताबमा पढेका कुराहरु पनि राम्ररी वुझ्ने अवसर पाएको र कार्यक्रम निकै अनुकरणीय र प्रयोगात्मक भएको कुरा जनाएका थिए ।

त्यसै गरी समापन समारोहलाई टुंग्याउदै नासोका अध्यक्ष भट्टराईले विद्यार्थीहरूलाई सिकेको कुराहरू समुदायसम्म पुर्याई आफ्नो जीवन सँग जोड्न सके यस परियोजनाको उद्देश्य पूरा हुने कुरा जनाए ।  कार्यक्रममा जनजागृति माध्यमिक विद्यालय, ह्वाईट हिल्स माध्यमिक विद्यालय, गार्मा माध्यमिक विद्यालय, माउंट एभरेस्ट माध्यमिक विद्यालयका विद्यार्थीहरूको संलग्नता रहेको थियो ।

कार्यशालाको दोस्रो दिन सोलुदुधकुण्डका विद्यालयहरूमा खगोलीय गतिविधिका लागि १३ सदस्यीय तदर्थ समिति निर्माण गरिएको छ । जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक थापाको संयोजकत्वमा गठित उक्त समितिलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको छ ।  साथै, उक्त समितिले यस क्षेत्रमा हुने विज्ञान प्रदर्शनीहरूमा सक्रिय सहभागिता जनाउदै खगोल विज्ञान प्रवर्धनका लागि कार्यक्रमहरू गर्न सक्नेछ ।