काठमाडौं । युरोपले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी सुरु गरेको छ । युरोपेली आयोगकी अध्यक्षले पत्रकार सम्मेलनमार्फत सामाजिक सञ्जाल प्लेटफर्ममा उमेरअनुसारको प्रतिबन्ध आवश्यक रहेको बताउनुभएको छ । उहाँका अनुसार मुख्य चिन्ताको विषय बालबालिकाले सामाजिक सञ्जालमा पहुँच पाउनु मात्र होइन, सामाजिक सञ्जालले बालबालिकासम्म कहिले र कसरी पहुँच बनाइरहेको छ भन्ने पनि हो ।
नयाँ प्रतिवेदनअनुसार युरोपका बालबालिकाले दैनिक ४ देखि ६ घण्टासम्म सामाजिक सञ्जालमा बिताउने गरेका छन् । तीमध्ये करिब ६० प्रतिशतमा निद्राको कमी, डिप्रेसन र एन्जाइटीजस्ता मानसिक स्वास्थ्य समस्या देखिएको चिन्ताजनक तथ्य सार्वजनिक भएको छ ।
यसैका आधारमा प्रतिवेदनले ३ वर्षमुनिका बालबालिकालाई स्क्रिनबाट पूर्ण रूपमा टाढा राख्न, १३ वर्षमुनिका बालबालिकालाई अभिभावक वा शिक्षकको निगरानीमा मात्र सामाजिक सञ्जाल प्रयोग गर्न दिन, तथा १३ देखि १८ वर्षका किशोर–किशोरीका लागि इन्फिनिट स्क्रोलिङ (Infinite Scrolling) जस्ता सुविधा प्रतिबन्धित गरिएका सुरक्षित प्लेटफर्म मात्र उपलब्ध गराउन सुझाव दिएको छ ।
अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ । यस्तै, फ्रान्स, जर्मनी, स्पेन तथा अमेरिकाको फ्लोरिडा राज्य पनि यस्तै प्रकारको प्रतिबन्ध लागू गर्ने तयारीमा छन् । अस्ट्रेलियाले नियम उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई लगाइने जरिवाना पनि दोब्बर बनाएको छ ।
युरोपेली आयोगकी अध्यक्षले बालबालिकाको सुरक्षाका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने न्यूनतम उमेर तोक्नुपर्ने पक्षमा समर्थन बढ्दै गएको बताउँदै ग्रीष्म ऋतुपछि यस सम्बन्धी आधिकारिक प्रस्ताव प्रस्तुत गरिने जानकारी दिनुभएको छ ।
आईसीटी समाचार