अब विदेशमा सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन नगरेका सूचना प्रविधि (आईटी) कम्पनीले पनि २० हजार अमेरिकी डलरसम्मको विदेशमा लगानी गर्न विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ संशोधन गर्दै कम्पनीको चुक्त पुँजीको सीमाभित्र रहेर अधिकतम २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।
यसअघि निरन्तर तीन वर्षसम्म विदेशमा सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको आईटी कम्पनीले मात्र विदेशमा लगानी गर्न अनुमति पाउने व्यवस्था थियो। तर राष्ट्र बैंकको पछिल्लो निर्णयले विदेशमा लगानी गर्न चाहने तर अझै विदेशी मुद्रा आर्जन गर्न नसकेका स्टार्टअप तथा नयाँ आईटी कम्पनीहरूलाई ठूलो राहत मिलेको छ।
संशोधित व्यवस्थाअनुसार अब यस्ता आईटी स्टार्टअपहरूले विदेशमा आफ्ना प्रोडक्ट वा सेवा प्रवाह गर्नका लागि २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा लिन सक्नेछन्। तर, सटही सुविधा लिई विदेशी विनिमय अपचलन गरेको पाइएमा कडा कारबाही हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
आईटी स्टार्टअपहरूले समेत विदेशमा सहज रूपमा लगानी गर्न पाउने व्यवस्था भएपछि निजी क्षेत्र उत्साहित भएको छ। यस कदमले नेपाली सूचना प्रविधि सेवा तथा प्रोडक्टलाई विश्व बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आईटी क्षेत्रलाई गभर्नर पौडेलको ढाडस
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पछिल्ला वर्षहरूमा नेपाली सूचना प्रविधि क्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै आईटी उद्यमीहरूलाई ढुक्क भएर विश्व बजारमा सेवा विस्तार गर्न आग्रह गरेका छन्।
‘अब ढुक्क भएर नयाँ प्रोडक्ट निकाल्नुहोस्, विश्व बजारमा आँखा लगाउनुहोस्। पखेटा फैलाउनुहोस्, मेहनत गर्नुहोस्। नेपालबाटै जित्न सकिने संसार छ। तपाईंहरूको विस्तारमा बैंकिङ क्षेत्रले सदैव साथ दिनेछ,’ गभर्नर पौडेलले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
उनले नतिजाका आधारमा हाल तोकिएका सीमाहरूलाई क्रमशः संशोधन गर्दै लैजाने प्रतिबद्धता पनि जनाएका छन् ।
यो पनि पढ्नुहोस
आईसीटी समाचार
