काठमाडौं । बि एण्ड बि टेक ग्रुपले ‘तिम्रो टिकट’ नामक नयाँ ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले यस एपमार्फत कार्यक्रम टिकट खरिद तथा व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र सहज बनाउने लक्ष्य राखेको जनाएको छ ।
एप सार्वजनिक गर्ने अवसरमा आयोजित कार्यक्रममा फुल–स्ट्याक डेभलपर आश्विन सुनारले ‘तिम्रो टिकट’का मुख्य विशेषताहरू प्रस्तुत गरेका थिए । उनका अनुसार एप प्रयोगकर्तामैत्री डिजाइनमा तयार पारिएको छ, जसले सांगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा अन्य सार्वजनिक इभेन्टहरूको टिकट सजिलै खरिद गर्न सहयोग पुर्याउनेछ ।
कम्पनीले यो एपले नेपालमा डिजिटल टिकटिङ प्रणालीको विकासमा महत्वपूर्ण योगदान दिने र इभेन्ट व्यवस्थापन क्षेत्रलाई थप व्यवस्थित तथा आधुनिक बनाउने अपेक्षा गरिएको जनाएको छ ।
सन् २०१८ मा विद्यालयस्तरका साथीहरू डा. विकास लम्साल र इन्जिनियर बिमल कुमार केसीले स्थापना गरेको कम्पनीले सन् २०२२ मा ‘बि एण्ड बि टेक ग्रुप’का रूपमा पुनःब्रान्डिङ गर्दै निरन्तर विस्तार गर्दै आएको छ ।
प्रविधि अनुसन्धान र विकासमा सक्रिय यस समूहले जापानका प्रतिष्ठित संस्थाहरू काजिमा कर्पोरेशन, एनएआईटी कर्पोरेशन र आईबीएमसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो उपस्थिति विस्तार गरेको बताइएको छ ।
यसै अवसरमा बि एण्ड बि टेक ग्रुपसँगै बि एण्ड बि टेक्निकल रिसर्च इन्स्टिच्युट, फिस्टेल एकेडेमी ब्रिज र हाकिम इन्टरटेन्मेन्टबीच रणनीतिक सहकार्यको औपचारिक घोषणा पनि गरिएको छ ।
यी संस्थाहरूले प्रविधि, अनुसन्धान, शिक्षा, सीप विकास र मनोरञ्जन क्षेत्रलाई एउटै प्लेटफर्ममा जोड्दै नेपालमा नयाँ अवसरहरू सिर्जना गर्ने उद्देश्य लिएका छन् ।
आईसीटी समाचार