मेटाले फेब्रुअरी १०, २०२६ देखि फेसबुकका ‘लाइक’ र ‘कमेन्ट’ बटन बाह्य वेबसाइटहरूबाट हटाउने निर्णय गरेको छ। कम्पनीका अनुसार यो कदम डेभलपर टुल्सलाई सरल र आधुनिक बनाउने उद्देश्यले उठाइएको हो।
ब्लग, न्युज साइट्स र शपिङ पोर्टलहरूमा राखिएका यी बटनमार्फत प्रयोगकर्ताले आफ्नै फेसबुक खाताबाट कुनै सामग्रीलाई ‘लाइक’ वा ‘कमेन्ट’ गर्न सक्थे। तर मेटाले अब यी सामाजिक प्लगइनहरूको आवश्यकता घटेको भन्दै क्रमशः हटाउने जनाएको छ।
कम्पनीका अनुसार फेसबुक एप र वेबसाइटभित्रको ‘लाइक’ बटन भने पहिलेझैँ काम गर्नेछ र पोस्ट, फोटो तथा भिडियोमा सामान्यरूपमा रिएक्सन दिन सकिनेछ। परिवर्तन केवल तिनै वेबसाइटहरूमा लागू हुनेछ जसले यी इम्बेडेड प्लगइन प्रयोग गरेका छन्।
मेटाले हालका वर्षहरूमा डेटा प्राइभेसीका कडा नियम, शेयरिङ नीतिमा आएका परिवर्तन र नयाँ सामाजिक प्लेटफर्महरूको वृद्धि कारण बाह्य ‘लाइक’ तथा ‘कमेन्ट’ बटनको उपयोगिता कम भएको जनाएको छ।
फेब्रुअरी २०२६ पछि ती बटनहरू वेबसाइटमा ०×० पिक्सेलको रूपमा रेंडर हुने भएकाले देखिने छैनन्। तर वेबसाइटको डिजाइन वा कार्यसम्पादनमा कुनै असर नपर्ने मेटाले स्पष्ट पारेको छ। यद्यपि कम्पनीले डेभलपरहरूलाई भविष्यमा ती प्लगइनका कोड हटाएर साइटलाई छिटो र सफा बनाउन सुझाव दिएको छ।
आईसीटी समाचार