एफडी ब्राण्डका विद्युतीय स्कुटर अब नेपालमै एसेम्बल हुने भएका छन् । ग्रन्थ ईभीले एफडी ब्राण्डका विद्युतीय स्कुटर अब नेपालमै एसेम्बल गर्ने तयारी अगाडि बढाएको हो ।
एसेम्बल प्लान्ट स्थापनाका लागि जग्गा खोज्ने काम अगाडि बढेको ग्रन्थ ईभीका संस्थापक सुजन ढुंगेलले बताए । एसेम्बल प्लान्ट स्थापना गर्न चिनियाँ कम्पनीले प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
अहिले ग्रन्थ ईभीले एफडी मोटर्सका विद्युतीय स्कुटर चिनियाँ बनाएर नेपाल ल्याउने गरेको छ । नेपालमै एसेम्बल प्लान्ट स्थापना भएपछि मूल्य पनि १० देखि १५ प्रतिशत सस्तो हुनेछ ।
एसेम्बल प्लान्टको क्षमता वार्षिक २० हजार युनिटसम्म उत्पादन गर्ने गरी विकास हुनेछ । तर सुरूमा वार्षिक ७ देखि १० हजार उत्पादन हुनेछन् । पछि बजारको आवश्यकता अनुसार बढाउँदै लगिने छ ।
ढुंगेलका अनुसार उद्योग स्थापनाका लागि ७ देखि १० करोड लगानी लाग्ने छ । साउनबाट एसेम्बल उद्योग दर्ताको प्रक्रिया हुनेछ ।
यसअघि ग्रन्थ ईभीले नेपालभर वितरण गर्न सजिलो र नाकाबाट पनि नजिक पर्ने भएकाले प्लान्ट भैरहवामै स्थापना गर्ने योजना बनाएको थियो ।
अब काठमाडौं ‘रिङरोड बाहिर’ एसेम्बल उद्योग स्थापना हुने ढुंगेलको भनाइ छ । ‘अहिले चीनतर्फको नाका तातोपानी र रसुवाबाट धेरै सामान आइरहेको छ । हाम्रो ठूलो बजार पनि काठमाडौंमा नै छ,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यसैले अब काठमाडौंको रिङरोड बाहिर उद्योग स्थापना गर्दैछौं । अहिले जग्गा खोजिरहेका छौं ।’
फ्याक्ट्रीका लागि पूर्वाधार तयार भएको कुनै जग्गा भए इक्विटी लगानीको रूपमा पनि सहकार्य गर्न तयार रहेको कम्पनीले जनाएको छ ।