कीवर्डहरू -

चाडपर्व लक्षित यातायात व्यवस्थापन : अनलाइन टिकटदेखि दुई चालकसम्म

चाडपर्व लक्षित यातायात व्यवस्थापन : अनलाइन टिकटदेखि दुई चालकसम्म

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने तथा देशभर भारी वर्षा र बाढीपहिरोको जोखिमसमेत रहेकाले यातायात व्यवस्थापनमा विशेष सावधानी अपनाउन व्यवसायी तथा सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

महासंघले चाडपर्वका लागि अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन तथा टिकट बिक्रीमा अनलाइन प्रणालीलाई प्राथमिकता दिन निर्देशन दिएको छ । यात्रुको परिचय खुल्ने विवरणसहितको चलानी लिएर मात्र सवारी साधन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको महासचिव गौतमले बताएका छन् ।

महासंघले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, ल्होत्से बहुउद्देश्यीय प्रालि तथा सम्बन्धित उपभोक्ता संस्थासँग समन्वय गरी सार्वजनिक यातायातको प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ ।

उपत्यकाबाट बाहिरिने तथा उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको नियमित अनुगमनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने महासंघले जनाएको छ । यस्तै, यातायात व्यवसायी, कम्पनी तथा संस्थाले टिकट जारी गर्ने कर्मचारीका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ ।

अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने तथा परिचयपत्र र तोकिएको पोसाक नलगाएका व्यक्तिमार्फत टिकट बिक्री गर्ने कार्य नियन्त्रण गर्न पनि महासंघले निर्देशन दिएको छ ।

यात्रुले आधिकारिक काउन्टर वा परिचयपत्र भएका कर्मचारीबाट टिकट लिनुपर्ने र सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रूपमा टिकट साथमा राख्नुपर्नेमा महासंघले जोड दिएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने चालक तथा कर्मचारीमाथि आवश्यक कारबाही गर्न पनि महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यात्रुवाहक सवारी साधनमा यात्रुलाई खाना तथा खाजा खुवाउँदा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको स्थानमा मात्रै रोक्ने व्यवस्था मिलाउन व्यवसायीलाई आग्रह गरिएको छ ।

बाढीपहिरो तथा सडक अवरोधको सम्भावनालाई ध्यानमा राख्दै मुख्य सडक तथा राजमार्गको नियमित निरीक्षण, आवश्यक मर्मतसम्भार र पहिरो नियन्त्रणका कामलाई प्राथमिकता दिन पनि महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

चाडपर्वका समयमा यात्रुको चापअनुसार आवश्यक सवारीसाधनको व्यवस्था गर्ने तथा यात्रुवाहक सवारीसाधनको रुट परमिट खुला गर्ने विषयमा पनि आवश्यक समन्वय गरिने महासंघले जनाएको छ । अग्रिम टिकट बुकिङ तथा ठूला सवारीसाधनको आवतजावत व्यवस्थापनबारे सरोकारवाला निकायसँग छलफल गरी समयमै सूचना जारी गरिने बताइएको छ ।

लामो दूरीमा चल्ने सवारी साधनका चालकको स्वास्थ्य अवस्था नियमित रूपमा जाँच गर्न, बिरामी परेका चालकको स्थानमा तत्काल अर्को चालकको व्यवस्था गर्न तथा लामो दूरीका सार्वजनिक सवारी साधनमा कम्तीमा दुई जना चालक राख्ने व्यवस्था गर्न महासंघले आग्रह गरेको छ ।

त्यस्तै, १८ वर्ष उमेर पूरा नभएका नाबालकलाई चालक वा अन्य काममा नलगाउन तथा चाडपर्वका समयमा सवारी साधनको चाप र दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रभावकारी अनुगमन र निगरानी गर्न पनि महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

चाडपर्व नजिकिँदै गर्दा सडक तथा मौसमको अवस्थाबारे थप छलफल गरी अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र समयबारे आवश्यक सूचना पछि सार्वजनिक गरिने महासंघले जनाएको छ ।