आजको डिजिटल युगमा हाम्रा हरेक जानकारी ट्र्याक हुन्छन् । इन्टरनेटमा हामी के सर्च गर्दैछौं, त्यो जानकारी गूगल, फेसबुक र युट्युब जस्ता कम्पनीहरूले निरन्तर सङ्कलन गरिरहेका हुन्छन्।
यो त्यतिमै सीमित छैन, हामी कहाँ जाँदैछौं, के खान्छौं र कुन कुराहरूका बारेमा कुरा गर्दैछौं भन्ने पनि निरन्तर रेकर्ड भइरहन्छन् ।
यी जानकारीहरूले तपाईंलाई लक्षित विज्ञापन देखाउन मद्दत गर्छ। इन्टरनेटको दुनियाँमा 'उत्पादन' इन्टरनेट होइन, तपाईं स्वयं हो । किनकी कम्पनीहरूले तपाईंको डेटा बिक्री गर्ने वा अन्य काममा प्रयोग गर्न सक्छन् ।
तर यदि तपाईं चाहनुहुन्छ कि तपाईंको सम्पूर्ण डेटा इन्टरनेटबाट मेटियोस् — के त्यस्तो सम्भव छ? पूर्ण रूपमा सबै साइटबाट वा तपाईंले भ्रमण गरेका सबै ठाउँबाट सबै जानकारी मेटाउन सधैं सम्भव नहुन सक्छ, तर गूगलजस्ता सेवाहरूले तपाईंलाई आफ्नो अनलाइन डेटा मेटाउने विकल्प दिन्छन्। तल केही सरल तरिकाले वर्षौँदेखि स्टोर भइरहेको डेटा कसरी मेट्ने भन्ने बताइएको छ।
डिजिटल फुटप्रिन्ट मेटाउने पाँच चरण
१. गूगल गतिविधिबाट सुरुवात गर्नुहोस्
गुगल खाताको गतिविधि पृष्ठमा जानुहोस्। यहाँ तपाईंको सर्च इतिहास, नक्साको मार्ग र युट्युब भिडियोहरूको सूची देखिन्छ। गतिविधि मेटाउने विकल्पमार्फत् सर्वकालीन गतिविधि मेट्न सकिन्छ।
२. नयाँ डेटा सङ्कलन रोक्नुहोस्
गतिविधि नियन्त्रणमा गई वेब तथा एपको गतिविधि, स्थान इतिहास र युट्युब इतिहासजस्ता सेटिङ बन्द गर्नुहोस्। यसले भविष्यमा तपाईंको स्थान र सर्च जानकारी सेव हुनबाट रोक्छ।
३. ट्र्याकिङ पूर्णतः बन्द गर्नुहोस्
गुगल खाताको डेटा र गोपनीयता सेक्शनमा गई ट्र्याकिङसम्बन्धी सबै सेटिङ बन्द गर्नुहोस्। यसले विभिन्न उपकरणमा तपाईंको अनलाइन गतिविधि ट्र्याक हुनबाट रोक्छ।
४. स्वचालित मेटाउने सेट गर्नुहोस्
बारम्बार म्यानुअल मेटाउन नपर्न स्वचालित मेटाउने विकल्प छनोट गर्नुहोस्। यहाँ डेटा तीन, अठार वा छत्तीस महिनापछि स्वचालित रूपमा मेटिनेगरी सेट गर्न सकिन्छ।
५. कनेक्शन सुरक्षित बनाउनुहोस्
आफ्नो अनलाइन गतिविधि ट्र्याक हुन नदिन भर्चुअल निजी नेटवर्क प्रयोग गर्नुहोस्। साथै प्राइभेसी केन्द्रित ब्राउजरहरू जस्तै ब्रेव, टोर वा डकडकगो अपनाउनुहोस् र केही महिनामा एकपटक पासवर्ड परिवर्तन गर्नुहोस्।
आईसीटी समाचार