काठमाडौं । एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु नि:शुल्क उपलब्ध हुनेछन् ।
यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म नि:शुल्क डेटा, अन नेट भ्वाइस र १०० वटा नि:शुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो र सोही अनुसार सेवा दिदै आएको थियो । तीन दिने अवधि आज समाप्त हुँदैछ ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका पहललाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ । प्रभावित समुदायका सर्बसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीसँग सम्पर्कमा रहन सजिलो बनाउँदै कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ ।
“हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं । यस कठिन समयमा आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने ।
१८ वटा टावर पुन: संचालनमा
एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा आपतकालीन खोज, उद्धार र राहतका कार्यमा सहयोग पुर्याउँदै आएको छ । कम्पनीले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ भने अन्य ९ प्रभावित टावरहरूको पुन:संचालनको लागि कार्य समेत गरिरहेको छ ।
यसैगरी, एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु १ करोड सहयोग गरेको थियो । यसका साथै, एनसेलले बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ ।
आईसीटी समाचार