काठमाडौं । एप्पलले चीनमा आफ्ना जेनेरेटिभ एआई सेवा सञ्चालन गर्न स्थानीय बजारलाई लक्षित गर्दै छुट्टै लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) विकास गरेको छ । यो मोडल तयार पार्न चिनियाँ प्रविधि कम्पनी अलिबाबाले एप्पललाई सहयोग गरेको विषयसँग परिचित तीन स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
चीनमा एआई सेवा विस्तारका लागि एप्पलले आफ्नै मोडल विकास गरेको खबर पहिलोपटक सार्वजनिक भएको हो । यसअघि चीनमा एप्पल इन्टेलिजेन्सका सुविधा उपलब्ध गराउन कम्पनीले स्थानीय प्रविधि कम्पनीका एआई मोडल प्रयोग गर्ने रणनीति अपनाउँदै आएको थियो ।
अलिबाबासँग मिलेर मोडल तयार
स्रोतका अनुसार चीनका लागि तयार गरिएको नयाँ एआई मोडलको विकास तथा प्रशिक्षण प्रक्रियामा अलिबाबाले सहयोग गरेको छ । संवेदनशील विषय भएकाले स्रोतहरूले आफ्नो परिचय सार्वजनिक गर्न अस्वीकार गरेका छन् ।
अमेरिकामा एप्पलले आफ्ना एआई सुविधाका लागि ओपनएआईको च्याटजीपीटी र एन्थ्रोपिकको क्लाउडजस्ता बाह्य एआई मोडलसँग सहकार्य गर्दै आएको छ । तर यीमध्ये केही सेवा चीनमा उपलब्ध नभएकाले चिनियाँ बजारका लागि एप्पलले फरक रणनीति अपनाउनुपरेको हो ।
चीनमा एप्पल इन्टेलिजेन्स विस्तारको तयारी
एप्पलको एआई सेवा ‘एप्पल इन्टेलिजेन्स’ आगामी केही महिनाभित्र आईओएसको नयाँ संस्करणसँगै चीनमा उपलब्ध हुने अपेक्षा गरिएको छ । चीनमा बिक्री हुने आईफोन, आईप्याड, म्याक र भिजन प्रोमा एप्पल इन्टेलिजेन्सका सुविधा उपलब्ध गराउने तयारी भइरहेको छ । यस क्रममा अलिबाबाको ‘क्वेन’ मोडललाई समेत प्रयोग गर्ने योजना रहेको छ ।
यसअघि चीनको बाइडुबाट विकसित प्रविधि पनि एप्पलको चिनियाँ एआई सेवामा प्रयोग हुने रिपोर्ट सार्वजनिक भएको थियो । गत साता एप्पलले चीनमा रहेका म्याक प्रयोगकर्तालाई सिरी र राइटिङ टुल्समा क्वेन मोडल कसरी प्रयोग गर्ने भन्नेबारे चिनियाँ भाषामा मार्गदर्शन समेत सार्वजनिक गरेको थियो । तर उक्त सामाग्री केही समयमै हटाइएको थियो ।
नियामकीय स्वीकृतिपछि बाटो खुल्यो
चीनको साइबरस्पेस प्रशासनले गत महिना एप्पलको जेनेरेटिभ एआई सेवालाई दर्ता गरेपछि चीनमा एप्पल इन्टेलिजेन्स विस्तार गर्ने बाटो खुलेको हो । चीनमा एआई सेवा सञ्चालनका लागि कडा नियामकीय मापदण्ड पूरा गर्नुपर्ने भएकाले एप्पलको सेवा सार्वजनिक हुन ढिलाइ भएको बताइएको छ ।
यदि एप्पलले आफ्नै एआई मोडललाई चिनियाँ बजारमा सञ्चालन गर्न आवश्यक स्वीकृति प्राप्त गर्यो भने चीनमा आफ्नै एआई प्रविधि प्रयोग गर्ने अनुमति पाउने पहिलो विदेशी कम्पनी बन्न सक्ने स्रोतहरूको दाबी छ ।
चिनियाँ स्मार्टफोनसँग प्रतिस्पर्धा गर्ने चुनौती
चीन एप्पलका लागि महत्वपूर्ण विदेशी बजारमध्ये एक हो । पछिल्लो समय ह्वावेईलगायत चिनियाँ स्मार्टफोन कम्पनीहरूले एआई सुविधासहितका उपकरण बजारमा ल्याएपछि एप्पलमाथि प्रतिस्पर्धात्मक दबाब बढेको छ ।
चिनियाँ आईफोनमा एआई सुविधा सीमित हुँदा उपभोक्ताहरू स्थानीय एआई प्रविधियुक्त स्मार्टफोनतर्फ आकर्षित हुन थालेको विश्लेषण गरिएको छ । त्यसैले चीनमा आफ्नै एआई सेवा विस्तार गर्नु एप्पलका लागि बजार हिस्सा जोगाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
एप्पल र अलिबाबाबीच चीनमा एआई सहकार्यको कुरा पहिलोपटक सन् २०२५ को फेब्रुअरीमा सार्वजनिक रूपमा पुष्टि भएको थियो । त्यसबेला अलिबाबाका अध्यक्ष जो साइले चीनमा बिक्री हुने एप्पलका उपकरणमा अलिबाबाको एआई प्रविधि प्रयोग हुने बताएका थिए ।
तर एप्पलले नयाँ आफ्नै मोडल र अलिबाबाको क्वेनलगायत स्थानीय एआई प्रविधिबीच भविष्यमा कसरी काम बाँडफाँट गर्नेछ भन्नेबारे भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन ।
आईसीटी समाचार