वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कार्यालयका कर्मचारीहरूले जुनसुकै आईपी एड्रेसबाट सञ्चालन गरेको पाइएको छ ।
महालेखा परीक्षक कार्यालयको ६२ औं प्रतिवेदनमा विभागका कर्मचारीहरूले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली जुनसुकै आईपी एड्रेसबाट सञ्चालन गर्ने गरेको औल्याइएको हो ।
यसले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको डेटा सुरक्षामै प्रश्न उब्जिएको छ । कार्यालय प्रमुख तथा अधिकृत कर्मचारीहरूले श्रम स्वीकृतिसम्बन्धी सिफारिस, प्रमाणित तथा स्वीकृत गर्ने कार्य कार्यालय समयभन्दा बाहिर अनधिकृत आईपी एड्रेसमार्फत गर्दा अनियमितता हुने र सूचनाको सुरक्षामा जटिलता हुने अवस्था देखिएकोले कार्यालयको आईपी एड्रेसबाट मात्र प्रणाली सञ्चालन हुने व्यवस्था मिलाउन समेत महालेखाले निर्देशन दिएको छ ।
सेवाग्राहीको व्यक्तिगत र सेवा प्रवाहसँग सम्बन्धित सूचनाको सुरक्षाको लागि आवश्यक प्रबन्ध हुनुपर्ने महालेखाको भनाइ छ ।