सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विदेशी लगानीकर्ताहरूलाई नेपालको आईटी क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छन् ।
सोमबार लगानी सम्मेलनमा बोल्दै मन्त्री शर्माले सूचना प्रविधिमा लगानी गर्न नेपाल धेरै हिसाबले उपयुक्त स्थल भएको भन्दै लगानी गर्न आग्रह गरेकी हुन् ।
‘हामीसँग सूचना प्रविधि उद्योग अनुकुल भौगलिक वातावरण त छँदैछ,’ उनले भनिन, ‘दक्ष जनशक्तिको उपलब्धताका कारण कम लागतमा सूचना प्रविधि उद्योग सञ्चालन गर्न सकिने प्रचुर सम्भावना छ ।’
प्रत्येक वर्ष १० हजार बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थप भइरहेको र १ लाख युवा आईटी सेवा निर्यातमा क्रियासिल रहेकाले नेपालमा जनशक्तिको अभाव नरहेको उनको भनाइ छ ।
नेपाललाई लगानीमैत्री वातावरण बनाउन आवश्यक कानुनहरू संशोधन गर्दै लगेको र अन्य कानुहरू पनि आवश्यकता अनुरूप संशोधन हुने तथा बनाउने जानकारी दिइन ।
नेपाललाई सूचना प्रविधि हब बनाउने दृढ संकल्पका साथ सरकार अगाडि बढेको जानकारी दिदै उनले लगानीकर्ताहरूसँग सहकार्य गर्न तयार रहेको बताइन ।