मंगलबारबाट नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म याङ्गो सञ्चालनमा आउने भएको छ । उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चर लगायतका अन्य केही कम्पनीहरू मिलेर दुबईमा आधारित याङ्गो सञ्चालन गर्न लागेका हुन् ।
नेपालमा जेठ ६ गते मंगलबारदेखि औपचारिक रूपमा याङ्गो सञ्चालनमा आउन लागेको याङ्गोको नेपाली पार्टनर उपायका सह-संस्थापक सुमन रायमाझीले जानकारी दिए ।
‘भोलि (मंगलबार) देखि औपचारिक रूपमा सेवा सुरू हुँदैछ । पहिलो १ वर्ष कुनै पनि कमिसन लिदैनौं । राइडरलाई एक्ट्रा बोनस दिन्छौं,’ रायमाझीले आइसिटी समाचारसँग भने ।
नेपालमा याङ्गो पार्टनरसीप मोडलमा सञ्चालन हुँदैछ । विश्वभर याङ्गोको मोडल नै यही हो । याङ्गोले प्रत्यक्ष भन्दा पनि पार्टनरहरूमार्फत सेवा विस्तार गर्छ ।
नेपालमा पनि याङ्गोका आधा दर्जन पार्टनर छन् । पार्टनर कम्पनीलाई याङ्गोले प्रविधि प्रदान गर्छ । लगानी पनि याङ्गोले पार्टनरमाथि नै गर्ने रायमाझीले बताए । २ वर्षसम्म नेपालबाट आम्दानी गरेको रकम नेपालमै लगानी गर्ने याङ्गोको योजना रहेको छ ।
एउटै प्लेटफर्म धेरै पार्टनरमार्फत सञ्चालन गर्दा द्वन्द हुँदैन भन्दै प्रश्नमा सुमन भन्छन् – 'द्वन्द हुने सम्भावना एकदमै कम हुन्छ । राइडरले गरेको कामको आधारमा हामीले पैसा पाउने हो ।'
पछिल्लो समय नेपालमा राइड शेयरिङ प्लेटफर्महरू लोकप्रिय हुँदै गइरहेका छन् । दर्जन राइड शेयरिङ प्लेटफर्म बजारमा भएपनि अधिकांश हिस्सा भने पठाओ र इन्ड्राइभसँग छ । यी दुवै विदेशी कम्पनी हो ।भोलिदेखि सुरू हुन लागेको याङ्गो पनि विदेशी कम्पनी नै हो । यसले अब पठाओ, इन्ड्राइभ जस्ता प्लेटफर्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
राइड शेयरिङबाट सुरू गरेर विस्तारै फुड डेलिभरी र डेलिभरी सेवामा पनि जाने योजना रहेको रायमाझीको भनाइ छ । नेपालको नीति अनुसार याङ्गोले सबै सुविधा ल्याउने बताइएको छ ।
राइडरले याङ्गो प्रो एप डाउनलोड गरेर आफ्नो अकाउन्ट बनाउन सक्ने छन् भने प्रयोगकर्ताले याङ्गो एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् ।
दुबईमा मुख्यालय भएको याङ्गो ग्लोबल राइड शेयरिङ प्लेटफर्म हो । याङ्गो ग्रुप अन्तर्गत राइड शेयरिङ बाहेक डेलिभरी, म्याप्स, ग्रोसरी, इन्टरटेन्मेन्ट, एआई लगायतका सुविधाहरू छन् ।
याङ्गो युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एशिया र दक्षिण अमेरिकाका ३० बढी देशमा सञ्चालनमा रहेको छ । नेपालमा याङ्गो टेक कम्पनीको रूपमा दर्ता रहेको छ ।
सन् २०१८ मा याङ्गोलाई रूसको आईटी कम्पनी यान्डेक्सले विकास गरेको थियो । तर अहिले स्वतन्त्र कम्पनीको रूपमा मुख्य कार्यालय दुबईबाट सञ्चालन हुँदै आएको छ ।