कीवर्डहरू -

हरेक प्रदेशमा फरेन्सिक ल्याब, महावीर पुनको प्रश्न- ‘क्षमता कहाँ छ ?’

हरेक प्रदेशमा फरेन्सिक ल्याब, महावीर पुनको प्रश्न- ‘क्षमता कहाँ छ ?’

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महावीर पुनले नेपालले धेरै संख्यामा फरेन्सिक प्रयोगशाला स्थापना गर्न सक्ने आर्थिक क्षमता नरहेको बताएका छन् । अत्याधुनिक उपकरण र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न आवश्यक पूर्वाधार अत्यन्त महँगो हुने भएकाले सीमित तर उच्चस्तरीय प्रयोगशालामा जोड दिनुपर्ने उनको धारणा छ ।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोल्दै पुनले प्रदेश-प्रदेशमा फरेन्सिक प्रयोगशाला स्थापना गर्ने प्रस्ताव व्यवहारिक नभएको बताए । सांसदहरूले प्रदेशस्तरमै यस्ता सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएपछि उनले नेपालको स्रोत र साधनलाई ध्यानमा राख्न आग्रह गरेका हुन् ।

उनका अनुसार फरेन्सिक परीक्षणका लागि आवश्यक उपकरण, जनशक्ति र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रमाणिकरण प्राप्त गर्न ठूलो लगानी आवश्यक पर्छ । यस्ता प्रयोगशालाले विश्वसनीयता कायम गर्न अन्तर्राष्ट्रिय मान्यता हासिल गर्नुपर्ने भएपनि त्यसका लागि आवश्यक पूर्वाधार जुटाउन नेपाललाई कठिन हुने उनले बताए ।

पुनले नेपालले आफ्नो क्षमताअनुसार आवश्यक परीक्षण स्वदेशमै गर्नुपर्ने र सम्भव नभएका जटिल परीक्षणका लागि विदेशी प्रयोगशालाको सहयोग लिनुपर्ने धारणा राखे । उनले कोरोना महामारीका बेला केही परीक्षणका नमुना विदेश पठाइएको उदाहरण दिँदै फरेन्सिक क्षेत्रका जटिल परीक्षणमा पनि त्यस्तो अभ्यास जारी राख्न सकिने बताए ।

“सबै प्रदेशमा महँगा र अत्याधुनिक प्रयोगशाला स्थापना गर्नुको सट्टा सीमित संख्यामा गुणस्तरीय केन्द्र स्थापना गरेर सेवा दिनु उपयुक्त हुन्छ,” पुनले बैठकमा भने । उनले उपलब्ध स्रोतको प्रभावकारी उपयोगमा जोड दिँदै फरेन्सिक पूर्वाधार विस्तार गर्दा दीर्घकालीन सञ्चालन खर्च र प्राविधिक क्षमताको पनि मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याए ।