खल्तीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले नयाँ वित्तीय प्लेटफर्म ‘ट्रस्ट ब्रिज क्यापिटल’ सुरू गरेका छन्। उनी सह संस्थापक रहेको यस कम्पनीले सर्वसाधारण, पेशाकर्मी तथा व्यवसायहरूलाई वित्त, पुँजी र लगानी पहुँचलाई अझ पारदर्शी, सुलभ र डिजिटल रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
उनका अनुसार नयाँ प्लेटफर्मले नेपालमा वित्तीय निर्णय प्रक्रियालाई डेटामा आधारित, छरितो र विश्वसनीय बनाउने उद्देश्य राखेको छ। ट्रस्ट ब्रिज क्यापिटलले मोर्गेज तथा ऋण व्यवस्थापन समाधान, डिजिटल लोनिङ सेवा, लगानी तथा पोर्टफोलियो व्यवस्थापन, पूँजी बजारसम्बन्धी उत्पाद, बीमा तथा वैकल्पिक लगानी विकल्प तथा फिनटेक–सक्षम वित्तीय निर्णय उपकरणजस्ता सेवा उपलब्ध गराउनेछ।
वित्तीय उद्योगमा लामो अनुभव, बलियो साझेदारी र प्रविधिमा आधारित कार्यशैलीका माध्यमबाट कम्पनीले नेपाली उपभोक्ता तथा व्यवसायहरूलाई आधुनिक वित्तीय पहुँच उपलब्ध गराउने दाबी गरेको छ। खड्काले भने, 'यो सुरुवात मात्र हो। हामी विश्वास र अवसरबीचको पुल निर्माण गर्ने लक्ष्यका साथ नयाँ यात्रालाई अघि बढाएका छौं।'
ट्रस्ट ब्रिज क्यापिटल सार्वजनिक भएसँगै नेपालमा डिजिटल–आधारित वित्तीय सेवा क्षेत्रमा नयाँ प्रतिस्पर्धा र नवप्रवर्तनको अपेक्षा गरिएको छ। कम्पनीले बैंक तथा वित्तीय संस्था, नियामक निकाय, साझेदार, फिनटेक समुदाय र लगानी क्षेत्रसँग सहकार्य गर्दै समावेशी, पहुँचयोग्य र प्रविधिमैत्री वित्तीय वातावरण निर्माण गर्ने मिसन अघि सारेको छ।
आईसीटी समाचार