काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) का लागि सञ्चालन हुने स्पेसएक्सको ‘क्रु-१४’ अभियानमा सहभागी हुने चार अन्तरिक्ष यात्रीको नाम सार्वजनिक गरेको छ ।
नासाका अनुसार अभियानमा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री सहभागी हुनेछन् । सन् २०२७ को वसन्तयामअघि प्रक्षेपण नहुने यो अभियान लामो अवधिको वैज्ञानिक अनुसन्धान तथा प्रविधि परीक्षणमा केन्द्रित रहनेछ ।
अभियानको नेतृत्व अमेरिकी अन्तरिक्ष यात्री कायला बारोनले गर्नेछिन् । उनलाई यानको कमान्डरको जिम्मेवारी दिइएको छ भने अर्का अमेरिकी अन्तरिक्ष यात्री क्रिस बर्च चालकका रूपमा रहनेछन् ।
जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साका अन्तरिक्ष यात्री माकोटो सुवा र रुसी अन्तरिक्ष संस्था रोस्कोस्मोसका अन्तरिक्ष यात्री अरुत्युन किभिर्यानले अभियानमा अनुसन्धान विशेषज्ञको जिम्मेवारी सम्हाल्नेछन् ।
‘क्रु-१४’ नासाको पृथ्वीको तल्लो कक्षा (लो अर्थ अर्बिट) सम्बन्धी कार्यक्रमअन्तर्गत स्पेसएक्ससँगको १४ औँ व्यावसायिक अन्तरिक्ष यात्री आदानप्रदान अभियान हुनेछ । अभियानका क्रममा अन्तरिक्ष यात्रीहरूले विभिन्न वैज्ञानिक अनुसन्धान र प्रविधिको परीक्षण गर्ने नासाले जनाएको छ ।
अन्तरिक्षमा गरिने यी अध्ययन तथा परीक्षणबाट भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि र ज्ञान विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, अभियानबाट प्राप्त अनुसन्धानका उपलब्धिले पृथ्वीमा रहेका मानिसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ पुर्याउने नासाको भनाइ छ । अभियानले अन्तरिक्ष विज्ञान, मानव अन्तरिक्ष अन्वेषण र भविष्यका दीर्घकालीन अन्तरिक्ष यात्राका लागि आवश्यक ज्ञान विस्तारमा समेत योगदान गर्नेछ ।
आईसीटी समाचार