काठमाडौं । एप्पलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अब जोन टर्नसले सम्हालेका छन् । टिम कुकले सीईओ पदबाट बिदा लिएसँगै १ सेप्टेम्बरदेखि टर्नसले विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक एप्पलको नेतृत्व सम्हालेका हुन् ।
कुकले पद हस्तान्तरण गर्ने योजना यसअघि नै सार्वजनिक गरेका थिए । करिब ४६ खर्ब अमेरिकी डलर बजार मूल्य रहेको एप्पलको नेतृत्वमा आएका ५१ वर्षीय टर्नस यसअघि कम्पनीको हार्डवेयर इन्जिनियरिङ विभागको नेतृत्व गर्दै आएका थिए ।
सीईओ बनेपछि टर्नसले कर्मचारीलाई पठाएको पहिलो सन्देशमा कुकप्रति आभार व्यक्त गर्दै एप्पलका नयाँ पुस्ताका उत्पादनलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
उनको कार्यकालको सुरुवातमै कम्पनीको ठूलो उत्पादन सार्वजनिक कार्यक्रम परेको छ । आगामी साता हुने कार्यक्रममा नयाँ पुस्ताको आईफोनसहित अन्य उत्पादन सार्वजनिक गर्ने तयारी एप्पलले गरेको छ ।
‘अर्को साता हाम्रो ठूलो लन्च हुँदै छ, जुन सानदार हुनेछ,’ टर्नसले कर्मचारीलाई पठाएको पहिलो मेमोमा उल्लेख गरेका छन् । जिम्मेवारी सम्हालेकै दिन उनले आफ्नो एक्स अकाउन्टबाट ‘हेलो’ लेख्दै सार्वजनिक उपस्थिति पनि जनाएका थिए ।
टर्नस एप्पलसँग लामो समयदेखि जोडिएका इन्जिनियर हुन् । उनी सन् २००१ मा कम्पनीमा प्रवेश गरेका थिए भने सन् २०२१ मा हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष बनेका थिए । आईप्याड, एयरपड्स र एप्पल भिजन प्रो जस्ता उत्पादनको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।
उत्पादन विकास र हार्डवेयर इन्जिनियरिङमा गहिरो अनुभव भएका टर्नसको नेतृत्वमा एप्पलले अब एआई क्षेत्रमा समेत आफ्नो स्थिति बलियो बनाउने चुनौती सामना गर्नुपर्नेछ । पछिल्लो समय एआई प्रविधिमा प्रतिस्पर्धी कम्पनीहरूभन्दा पछि परेको आलोचनाबीच एप्पलले यस क्षेत्रमा लगानी र विकासलाई तीव्र बनाइरहेको छ ।
यता, कुकले सन् २०११ अगस्टमा एप्पलका सहसंस्थापक स्टिभ जब्सबाट सीईओको जिम्मेवारी लिएका थिए । करिब १५ वर्ष कम्पनीको नेतृत्व गरेका कुकको कार्यकालमा एप्पलको बजार मूल्यमा ठूलो वृद्धि भयो ।
करिब साढे ३ खर्ब डलरको कम्पनीबाट एप्पललाई ४५ खर्ब डलरभन्दा बढीको विश्वकै मूल्यवान् कम्पनीमध्ये एक बनाउन उनको नेतृत्व महत्वपूर्ण मानिन्छ । सीईओ पद छाडे पनि कुक एप्पलबाट पूर्ण रूपमा बाहिरिएका छैनन् । उनी कार्यकारी अध्यक्षका रूपमा कम्पनीमै रहनेछन् र रणनीतिक तथा नीतिगत विषयमा नेतृत्वलाई सहयोग गर्नेछन् ।
एप्पलमा प्रत्यक्ष रूपमा करिब १ लाख ६६ हजार कर्मचारी कार्यरत छन् । तीमध्ये करिब ८० हजार अमेरिकामा र ८६ हजारभन्दा बढी कर्मचारी अमेरिका बाहिर कार्यरत छन् । उनीहरूको समग्र नेतृत्व अब टर्नसले गर्नेछन् ।
कुकले सीईओका रूपमा कर्मचारीलाई पठाएको अन्तिम सन्देशमा कम्पनीले उत्पादन गर्ने प्रविधिको सामाजिक महत्वलाई जोड दिएका छन् । उनले एप्पलले विगतभन्दा अझ राम्रो संसार निर्माण गर्ने जिम्मेवारी र अवसर बोकेको बताएका छन् ।
टर्नसको नेतृत्वको पहिलो महत्वपूर्ण परीक्षा भने आगामी साता एप्पल पार्कमा हुने नयाँ उत्पादन सार्वजनिक कार्यक्रम बन्नेछ । कम्पनीले उक्त कार्यक्रममा आईफोन १८ सिरिजसहित नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ ।
हाल एप्पलका ४३ वटा कर्पोरेट तथा क्षेत्रीय कार्यालय छन् भने २५ भन्दा बढी देशमा ५४० भन्दा बढी आधिकारिक बिक्री केन्द्र सञ्चालनमा छन् । चीन, भारत, भियतनाम र ब्राजिललगायत देशमा कम्पनीका उत्पादन केन्द्र रहेका छन् ।
सन् १९७६ मा क्यालिफोर्नियामा स्टिभ जब्स, स्टिभ वोज्नियाक र रोनाल्ड वायनले स्थापना गरेको एप्पल पाँच दशकमा विश्वकै प्रभावशाली प्रविधि कम्पनीका रूपमा स्थापित भएको छ । अब कम्पनीको अर्को चरणको यात्रा भने उत्पादन इन्जिनियरिङमा लामो अनुभव भएका टर्नसको नेतृत्वमा अघि बढ्नेछ ।
आईसीटी समाचार