कीवर्डहरू -

लाइसेन्स छपाइदेखि घरमै डेलिभरीसम्म, तीन सरकारी निकायबीच त्रिपक्षीय सम्झौता

लाइसेन्स छपाइदेखि घरमै डेलिभरीसम्म, तीन सरकारी निकायबीच त्रिपक्षीय सम्झौता

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन सरकारी निकायबीच त्रिपक्षीय सम्झौता भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच लाइसेन्स छपाइ तथा वितरणसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीमा रहेको विवरण सुरक्षण मुद्रण केन्द्रको प्रणालीसँग सिधै जोडिनेछ । प्रणालीमा आवश्यक डाटा प्राप्त भएपछि लाइसेन्स छपाइको जिम्मेवारी सुरक्षण मुद्रण केन्द्रले सम्हाल्ने व्यवस्था गरिएको छ ।

छपाइ भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पठाई वितरण गर्ने तथा सेवाग्राहीले उपलब्ध गराएको ठेगानामा हुलाकमार्फत सिधै पुर्‍याउने व्यवस्था समेत मिलाइनेछ। यसबाट लाइसेन्स छपाइदेखि सेवाग्राहीसम्म पुर्‍याउने प्रक्रियालाई एउटै प्रणालीमार्फत व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौता कार्यान्वयनमा आएपछि लामो समयदेखि समस्या र ढिलाइ देखिँदै आएको सवारी चालक अनुमतिपत्रको छपाइ तथा वितरण प्रक्रिया सहज हुने सरकारी निकायले विश्वास लिएका छन् । साथै, सेवाग्राहीले लाइसेन्स प्राप्त गर्न भोग्दै आएका झन्झट र अनावश्यक दौडधुप समेत कम हुने अपेक्षा गरिएको छ ।