कीवर्डहरू -

फोरेन्सिक ल्याबमा आधुनिक उपकरणदेखि दक्ष जनशक्तिसम्म, सरकारको नयाँ योजना

फोरेन्सिक ल्याबमा आधुनिक उपकरणदेखि दक्ष जनशक्तिसम्म, सरकारको नयाँ योजना

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालमा फोरेन्सिक (विधि विज्ञान) प्रयोगशालाको क्षमता विस्तार गरी सातै प्रदेशमा आधुनिक प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलमा सहभागी हुँदै मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशाला सीमित क्षमता, कमजोर पूर्वाधार र पुराना उपकरणका कारण प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए ।

सरकारले काठमाडौंमा रहेको फोरेन्सिक प्रयोगशालालाई आधुनिक बनाउनुका साथै प्रदेशस्तरमा समेत आवश्यक पूर्वाधार र उपकरणसहितका प्रयोगशाला विस्तार गर्ने योजना अघि बढाएको उनको भनाइ छ ।

मन्त्री पुनले फोरेन्सिक प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न स्वायत्त र स्वशासित संस्थाका रूपमा विकास गर्न खोजिएको बताए । विज्ञान मन्त्रालयअन्तर्गत रहे पनि संस्थालाई स्वायत्त ढंगले सञ्चालन गर्ने गरी विधेयक तयार गरिएको उनले जानकारी दिए ।

‘यो राजनीतिमुक्त हुन्छ । यसलाई स्वायत्त, विज्ञान मन्त्रालयको अन्तर्गत भए तापनि स्वायत्त संस्थाको रूपमा, स्वशासितको रूपमा यो ऐन बनाइएको छ,’ उनले भने, ‘त्यसैले यसमा राजनीतिक हस्तक्षेप हुँदैन भन्ने कुरामा म विश्वस्त छु ।’

यद्यपि संस्था राजनीतिमुक्त बनाउने विषय कानुनमा व्यवस्था गरेर मात्रै सम्भव नहुने भन्दै उनले सम्बन्धित व्यक्तिको व्यवहार र प्रतिबद्धता पनि उत्तिकै महत्वपूर्ण हुने बताए ।

त्रिशूली बाढीपछि फोरेन्सिक क्षमताको वास्तविकता उजागर
मन्त्री पुनले त्रिशूली क्षेत्रमा आएको बाढीपछि ठूलो संख्यामा डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएपछि नेपालको फोरेन्सिक प्रणालीको वास्तविक क्षमता कमजोर रहेको देखिएको बताए ।

नेपालमा रहेका सीमित प्रयोगशालाबाट मात्रै ठूलो संख्यामा डीएनए परीक्षण गर्नुपरे महिनौँदेखि वर्षौंसम्म लाग्न सक्ने अवस्था देखिएको उनको भनाइ छ । ‘अहिलेको जुन धेरै डीएनए टेस्टिङहरू गर्नुपर्ने छ, यो त महिनौँ के वर्षौँ लाग्ने जस्तो पो देखिएछ,’ उनले भने ।

बाढीपछि चीन र भारतबाट विशेषज्ञ तथा उपकरण सहयोग प्राप्त भएपछि डीएनए परीक्षणको काम तीव्र रूपमा अघि बढेको उनले जानकारी दिए । उनका अनुसार चीनबाट १५ जना र भारतबाट नौ जना विशेषज्ञसहित आवश्यक उपकरण सहयोग प्राप्त भएको छ ।

मन्त्री पुनले पछिल्लो घटनाले नेपालमा आधुनिक फोरेन्सिक प्रयोगशाला निर्माणमा पर्याप्त ध्यान नदिइएको अवस्था स्पष्ट भएको बताए । ‘यो दुर्घटनाले हामीलाई के देखायो भने, हामीले विधि विज्ञानसम्बन्धी जस्तो किसिमको प्रयोगशाला बनाउनुपर्ने थियो, त्यसको त छेउ पनि बनाएको रहेनछ भन्ने कुरा अहिले थाहा भयो,’ उनले भने ।

सातै प्रदेशमा विस्तार, २० करोडका उपकरण खरिद
सरकारले काठमाडौंको प्रयोगशालालाई स्तरोन्नति गर्दै क्रमश: सातै प्रदेशमा सक्षम फोरेन्सिक प्रयोगशाला स्थापना गर्ने तयारी गरेको मन्त्री पुनले बताए । प्रदेशमा रहेका विद्यमान प्रयोगशालाको क्षमता निकै सीमित रहेको र कतिपय प्रयोगशाला आफ्नै भवन समेत नभएका कारण भाडाका भवनबाट सञ्चालन भइरहेको उनले जानकारी दिए ।

फोरेन्सिक प्रयोगशालाका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको १८ करोड रुपैयाँ पर्याप्त नभएको उनले बताए । मन्त्रालयको बजेटबाट करिब २० करोड रुपैयाँ बराबरका आधुनिक उपकरण खरिद गर्ने तयारी भइरहेको जानकारी पनि उनले दिए ।

‘अब भवन पनि बन्छ र आधुनिक उपकरणहरू आउँछन् । त्यसकारण झन्डै २० करोड रुपैयाँजतिको उपकरण किन्ने भनेका छौँ,’ उनले भने ।

विदेशमा समेत मान्य हुने परीक्षणको लक्ष्य
नेपालमा हुने फोरेन्सिक परीक्षणलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउन एक्रिडिटेसनको प्रक्रिया अघि बढाउने तयारीसमेत भइरहेको मन्त्री पुनले बताए ।नेपालमा गरिएको परीक्षणको नतिजा विदेशमा समेत मान्य हुने गरी प्रयोगशालाको गुणस्तर र विश्वसनीयता बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

‘यसलाई एक्रिडिटेसन गर्नुपर्ने छ । ताकि यहाँ भएको परीक्षण विदेशमा पनि मान्यता प्राप्त हुनुपर्‍यो,’ उनले भने । फोरेन्सिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव पनि चुनौतीका रूपमा रहेको उनले बताए ।

नेपालका विश्वविद्यालयमा फोरेन्सिक विषयको अध्ययन–अध्यापन पर्याप्त नभएकाले नयाँ पाठ्यक्रम विकास गर्ने वा छात्रवृत्तिमार्फत विद्यार्थीलाई विदेशमा अध्ययन तथा तालिमका लागि पठाउने विकल्पमा सरकार अघि बढ्ने उनले बताए ।

डीएनए डाटा सुरक्षित राख्न सफ्टवेयर र डाटा बैंक आवश्यक
मन्त्री पुनले फोरेन्सिक डीएनए डाटाको सुरक्षा सरकारको प्राथमिकतामा रहेको पनि बताए । डीएनएजस्तो संवेदनशील विवरण सुरक्षित राख्न भरपर्दो सफ्टवेयर र सुरक्षित डाटा बैंक आवश्यक रहेको उनको भनाइ छ । डाटा चुहावट रोक्न आवश्यक सबै सुरक्षा उपाय अपनाउने उनले बताए ।

विदेशी नागरिकको डीएनएसम्बन्धी विवरण सम्बन्धित विदेशी मुलुकले माग गरे कानुनले तोकेको प्रक्रिया पूरा गरेर उपलब्ध गराउन सकिने व्यवस्था रहेको उनले स्पष्ट पारे । तर त्यसको अर्थ डीएनए डाटा विदेशमा बिक्री गर्ने नभएको उनको भनाइ थियो ।

‘यो विदेशमा बेच्ने होइन, यो डाटा यहीँ नै राख्ने हो,’ उनले भने, ‘विदेशीहरूको डाटा त दिनुपर्‍यो नि ।’ मन्त्री पुनले फोरेन्सिक प्रयोगशाला बिरामीको स्वास्थ्य परीक्षण गर्ने प्रयोगशाला नभएको पनि स्पष्ट पारे । अदालत तथा न्यायिक प्रक्रियाका लागि आवश्यक प्रमाण जुटाउन वैज्ञानिक परीक्षण र विश्लेषण गर्ने प्रयोगशाला नै फोरेन्सिक प्रयोगशाला भएको उनले बताए ।

बाँदर नियन्त्रणमा प्रविधिको प्रयोग
मन्त्री पुनले नेपालमा बाँदरका कारण उत्पन्न समस्या समाधानका लागि विज्ञान तथा प्रविधिको प्रयोगबाट विभिन्न उपायको अनुसन्धान र परीक्षण गर्ने तयारी भइरहेको पनि जानकारी दिए । यसका लागि आवश्यक बजेट छुट्याउने तथा विज्ञान मन्त्रालयले प्रविधिको अनुसन्धान र परीक्षण गर्ने र कृषि मन्त्रालयले त्यसको कार्यान्वयनमा सहजीकरण गर्ने समझदारी भएको उनले बताए ।