कीवर्डहरू -

स्मार्टफोनदेखि स्मार्ट टिभीसम्म: कसरी ग्याजेटहरू तपाईंको आवाज सुन्दैछन् ?

स्मार्टफोनदेखि स्मार्ट टिभीसम्म: कसरी ग्याजेटहरू तपाईंको आवाज सुन्दैछन् ?

सावधान! तपाईंले प्रयोग गर्ने स्मार्ट ग्याजेटहरू तपाईंको कुरा सुन्दै छन् । आजको डिजिटल युगमा हाम्रो जीवन स्मार्टफोन, स्मार्ट टिभी, भ्वाइस असिस्टेन्ट र अन्य स्मार्ट ग्याजेट्स वरिपरि घुम्छ ।

यी डिभाइसेसले हामीलाई सजिलो बनाउँछन्, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यी तपाईंका कुरा पनि सुन्न सक्छन्?

तपाईंले अनुभव गर्नुभएको होला, कहिलेकाहीँ तपाईं कुनै उत्पादन वा विषयवस्तुमा कुरा गरिरहनुहुन्छ, र केही समयमा नै त्यसैसँग सम्बन्धित विज्ञापनहरू सामाजिक सञ्जाल वा गुगल सर्चमा देख्न थाल्नुहुन्छ । यो संयोग मात्र होइन, तपाईंको डिभाइस र एप्समा रहेको “लिसनिङ टेक्नोलोजी" को परिणाम हुन सक्छ ।

यस लेखमा, हामी ती ग्याजेट्स र एप्सको चर्चा गर्नेछौं जुन तपाईंको कुरा सुन्छन् र यसबाट कसरी बच्ने भन्ने उपायहरू बताउनेछौं ।

कुन–कुन ग्याजेट्स तपाईंका कुरा सुन्न सक्छन् ?

१. स्मार्टफोन

तपाईंको स्मार्टफोन तपाईंको आवाज सुन्ने प्रमुख माध्यम हुन सक्छ। एन्ड्रोइड र आइफोन दुवैले गूगल असिस्टेन्ट र सिरी जस्ता भ्वाइस असिस्टेन्ट सुविधाहरू प्रयोग गर्छन्, जसले गर्दा माइक्रोफोन सधैं सक्रिय रहन सक्छ । धेरै एप्सले पनि माइक्रोफोनको पहुँच माग्छन्, जसले गर्दा तपाईंको वार्तालाप रेकर्ड हुन सक्छ ।

२. स्मार्ट स्पीकर्स (अमेजन ईको, गूगल नेस्ट, एप्पल होमपड)

यी डिभाइसेस 'हे एलेक्सा', 'ओके गूगल', 'हे सिरी' जस्ता कमान्डहरू सुन्ने उद्देश्यले निरन्तर सक्रिय रहन्छन् । यद्यपि, यी सामान्यतः ट्रिगर वर्डहरू सुनेपछि मात्र प्रतिक्रिया दिन्छन्, तर कहिलेकाहीँ बिना आदेश नै तपाईंका कुरा रेकर्ड हुन सक्छ ।

३. स्मार्ट टिभी

स्मार्ट टिभीमा भ्वाइस कमान्ड सुविधा हुन्छ, जसले गर्दा यसले तपाईंको आवाज सुन्न सक्छ । केही स्मार्ट टिभी ब्रान्डहरू डेटा चोरी र अडियो रेकर्डिङसम्बन्धी विवादमा परिसकेका छन् ।

४. ल्यापटप र कम्प्युटर

यदि तपाईंको ल्यापटपको माइक्रोफोन सधैं अन छ र केही एप्सलाई यसको पहुँच दिइएको छ भने, तपाईंको कुराकानी सुन्न सक्ने सम्भावना हुन्छ । कहिलेकाहीँ मालवेयर (भाइरस) वा ह्याकरहरू ले तपाईंको डिभाइस नियन्त्रण गरेर तपाईंको आवाज सुन्न सक्छन् ।

५. सामाजिक सञ्जाल एप्स (फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक)

यी एप्सले माइक्रोफोनको अनुमति लिएर तपाईंका कुराकानी ट्र्याक गर्न सक्छन् । उदाहरणका लागि, धेरै प्रयोगकर्ताहरूले फेसबुकमा यस्तो अनुभव गरेका छन् कि उनीहरू कुनै विषयमा कुरा गरिरहेका थिए, र केही समयपछि त्यही विषयका विज्ञापनहरू देख्न थाले ।

यी ग्याजेट्सको जासूसीबाट कसरी जोगिने ?

१. एप्सको माइक्रोफोन एक्सेस चेक गर्नुहोस्

तपाईंको स्मार्टफोन सेटिङ्स → प्राइभेसी → माइक्रोफोन मा गएर कुन–कुन एप्सलाई माइक्रोफोन एक्सेस दिइएको छ भनेर हेर्नुहोस् । जसलाई आवश्यक छैन, ती एप्सको माइक्रोफोन अनुमति बन्द गर्नुहोस् ।

२. भ्वाइस असिस्टेन्ट डिसेबल गर्नुहोस्

यदि तपाईं गूगल एसिस्टेन्ट, सिरी वा एलेक्सा प्रयोग गर्नुहुन्न भने, यसलाई डिसेबल गर्नुहोस् । गूगल असिस्टेन्ट बन्द गर्नका लागि सेटिङ्स → गूगल → खोजी, असिस्टेन्ट र आवाज → आवाज मिलान मा जानुहोस् र यसलाई बन्द गर्नुहोस् । त्यसैगरी, यदि तपाईं सिरि डिसेबल गर्न चाहनुहुन्छ भने, सेटिङ्स → सिरि र खोजी → ‘हे सिरि’ सुन्ने’ विकल्प अफ गर्नुहोस् ।

३. स्मार्ट स्पीकर र टिभीमा माइक्रोफोन डिसेबल गर्नुहोस्

यदि तपाईंको स्मार्ट स्पीकर वा टिभीमा माइक्रोफोन सधैं अन छ भने, सेटिङ्समा गएर यसलाई बन्द गर्नुहोस् ।
यदि फिजिकल माइक्रोफोन म्यूट बटन छ भने, त्यसको प्रयोग गर्नुहोस् ।

४. सामाजिक सञ्जालमा डेटा ट्र्याकिङ बन्द गर्नुहोस्

फेसबुक र इन्स्टाग्राम जस्ता एप्समा सेटिंग → प्राइभेसी → माईक्रोफोनमा गएर माइक्रोफोनको अनुमति अफ गर्नुहोस् । फेसबुक एड प्रिफेरेन्सुसेटिङ्समा गएर पर्सनलाइज्ड विज्ञापनहरू बन्द गर्नुहोस् ।

५. ल्यापटपको माइक्रोफोन र वेबक्याम टेपले छोप्नुहोस्

यो सबैभन्दा पुरानो तर प्रभावकारी उपाय हो । धेरै साइबर एक्सपर्टहरू (र फेसबुकका संस्थापक मार्क जुकरबर्ग स्वयं) ले ल्यापटपको वेबक्याम र माइक्रोफोनमा टेप लगाएर सुरक्षित रहन्छन् ।

डिजिटल दुनियाँमा सजिलोपनसँगै गोपनीयताको जोखिम पनि बढेको छ । स्मार्टफोन, स्मार्ट स्पीकर, टिभी, ल्यापटप, र सामाजिक सञ्जाल एप्सले तपाईंको आवाज सुन्न सक्छन् । त्यसैले, आफ्नो गोपनीयता सुरक्षित गर्न सचेत बनौं, सेटिङ्समा आवश्यक परिवर्तन गरौं, र अनावश्यक अनुमति बन्द गरौं । हामी स्मार्ट बन्नुपर्छ, हाम्रा ग्याजेट्स होइन!