अब कुमारी बैंकमा मुद्दति निक्षेप र रिकरिङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशतसम्म कर्जा सुविधा सजिलै र तुरुन्तै लिन सकिने बैंकले जनाएको छ ।
हालसम्म यो सेवा लिनको लागि बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था थियो भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अबदेखि सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको हो ।
मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा व्याजदरमा ०.२५ प्रतिशत छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागि कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ एपमार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले बताएको छ ।
निक्षेपकर्तालाई आवश्यकता परेको अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्दति निक्षेपलाई रद्दति नगरी मोबाइल बैंकिङ एपमार्फत् सामान्य केहि क्लिकहरु गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुर्याएको छ ।