फक्सकन, जुन संसारकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स निर्माता र एपलको प्रमुख आईफोन आपूर्तिकर्ता हो, अब पूर्ण रूपमा अटोमेशनतर्फ अगाडि बढ्न लागेको छ । कम्पनीका चेयरम्यान यंग लियूले कम्प्युटेक्स २०२५ मा ताइपेमा भने अनुसार, भविष्यमा कारखानाहरूमा अधिकांश म्यानुअल काम रोबोट र जनरेटिभ एआई द्वारा गरिनेछ, जसले कम दक्षता भएका मानव श्रमिकहरूको आवश्यकता घटाउनेछ ।
यंग लियूले बताए अनुसार फक्सकन पहिले नै आफ्नो वर्कफ्लोमा जनरेटिभ एआई समावेश गरिसकेको छ, जसले उत्पादन क्षमतामा तीव्र वृद्धि गरेको छ । एआई समर्थित सफ्टवेयरले नयाँ उत्पादन लाइन स्थापना गर्ने ८० प्रतिशत कार्य स्वतः गर्न सक्ने भएकोले समय र लागत दुवैमा बचत भएको छ ।
उनी भन्छन्, “हामीले सोचेका थियौं कि सायद हामी हरेक मानवलाई बदल्न सक्छौं, तर चाँडै बुझ्यौं कि त्यो पूर्ण रूपमा सम्भव छैन् ।” एआई अब कम्पनीलाई उत्पादन समस्याहरू चाँडै समाधान गर्न सघाउँदैछ र मानव विशेषज्ञहरूले थप मूल्यवान कार्यहरूमा ध्यान दिन सकिरहेका छन् ।
अब फक्सकनले फक्सब्रेन नामक आफ्नै एआई मोडल बनाउँदैछ, जसले मेटाका लामा ३ र ४ मोडलहरूलाई कम्पनीको अपरेशनल डाटा सँग समायोजन गरी एक एजेन्टिक वर्कफ्लो तयार गर्नेछ। यो मोडलले कारखानाको स्थलमै हुने समस्याहरू समाधान गर्न सघाउनेछ र कम्पनीले यसलाई ओपन(सोर्स गर्ने योजना बनाएको छ ।
फक्सकन हरेक वर्ष करिब १०,००० वटा फक्सबोट्स तयार गर्छ, जसले मानव श्रमिकहरूको स्थान लिइरहेका छन् । कम्पनीले पहिले नै दाबी गरिसकेको छ कि उसले एक कारखानामा ६०,००० जागिर अटोमेट गरिसकेको छ र सन् २०२० सम्म आफ्ना चाइनिज प्लान्ट्समा ३०५ अटोमेशनको लक्ष्य राखेको थियो ।
अब फक्सकनले एनभिडियाको ओम्निभर्सको प्रयोग गरेर डिजिटल ट्विन फैक्ट्रीहरू बनाउँदैछ र तिनीहरूको सिमुलेशन गरिरहेको छ, जसले कारखाना निर्माण गर्नु अघि नै उसको योजना र प्रक्रिया एआई द्वारा अप्टिमाइज गर्न सकिन्छ ।