२२ जनवरीमा आयोजना हुने ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’मा सामसङले आफ्नो नयाँ ग्यालेक्सी एस२५ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यस सिरिजमा कम्पनीले ‘ग्यालेक्सी एस२५ स्लिम’ मोडल पनि लन्च गर्न सक्ने अनुमान गरिएको छ ।
इभेन्टमा स्लिम मोडल प्रस्तुत गरेपछि यसलाई मे महिनाको अन्तिमसम्म बजारमा उपलब्ध गराइनेछ । रिपोर्टअनुसार स्लिम मोडल केही छानिएका देशहरूमा मात्र लन्च हुनेछ ।
रिपोर्टमा ग्यालेक्सी एस२५ स्लिमको उपलब्धताबारे थप जानकारी दिइएको छैन् । तर, यसबारे ‘अनप्याक्ड इभेन्ट’मा थप जानकारी पाउन सकिन्छ ।
नामबाट नै बुझ्न सकिन्छ कि ग्यालेक्सी एस२५ स्लिम पातलो डिजाइनमा आउनेछ । यसमा ६.७ इन्च वा ६.८ इन्चको डिस्प्ले हुने चर्चा छ, जुन एस२५+ मा पनि हुन सक्ने अनुमान छ ।
स्मार्टफोनमा २०० मेगापिक्सलको सामसङ आईसोसेल एचपी ५ प्राइमरी क्यामेरा, ५० मेगापिक्सलको आईसोसेल जेएन५ अल्ट्रा–वाइड क्यामेरा, र ३.५ एक्स अप्टिकल जुमसहितको ५० मेगापिक्सलको टेलिफोटो लेन्स हुन सक्छ ।
स्मार्टफोनमा १२ जीबी र्याम र स्नापड्रागन ८ ईलिट चिपसेट हुने सम्भावना छ । यो फोन एन्ड्रोइड १५ बेस्ड वान यूआई ७ मा चल्नेछ ।
मेगा इभेन्टमा ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५+, र ग्यालेक्सी एस२५ अल्ट्रा स्मार्टफोन लन्च गरिनेछ । यसमा ग्यालेक्सी एस२४ सिरिजको तुलनामा धेरै सुधारहरू गरिनेछन्, विशेष गरी एआई र क्यामेरा प्रदर्शनको हिसाबले यो सिरिज धेरै उत्कृष्ट हुने अपेक्षा गरिएको छ ।