गुगल डिपमाइन्डले मंगलबार नयाँ भाषा मोडेल ‘जेमिनाइ रोबोटिक्स अन डिभाइस’ सार्वजनिक गरेको छ । यसलाई इन्टरनेट प्रयोग नगरेरै रोबोटमा सञ्चालन गर्न सकिने छ ।
मार्चमा सार्वजनिक गरिएको क्लाउडमा आधारित जेमिनाइ रोबोटिक्स मोडेलको निरन्तरताका रूपमा ल्याइएको यो नयाँ मोडेलले रोबोटका गतिविधिहरू स्थानीय स्तरमै नियन्त्रित गर्न सक्ने क्षमता राख्दछ ।
प्रयोगकर्ताहरूले प्राकृतिक भाषा (न्याचुरल ल्याङ्ग्वेज) प्रयोग गरेर मोडेललाई विभिन्न कार्यहरूका लागि निर्देशित र अनुकूलित गर्न सक्छन् ।
गुगलका अनुसार, परीक्षणहरूमा यो अन-डिभाइस मोडेलले क्लाउडमा चल्ने जेमिनाइ रोबोटिक्स जस्तै स्तरको प्रदर्शन गरेको छ । कम्पनीले यो मोडेलले अन्य सबै अन-डिभाइस मोडेलहरू भन्दा राम्रो नतिजा दिएको दाबी गरे पनि अन्य मोडेलहरूको नाम भने खुलाएको छैन ।
गुगलले सार्वजनिक गरेको डेमोमा, यो मोडेलमा आधारित रोबोटहरूले झोला खोल्ने, कपडा तह लगाउनेजस्ता कार्यहरू देखाइएको थियो । प्रारम्भमा ALOHA नामक रोबोटमा प्रशिक्षण दिइएको मोडेललाई पछि Franka FR3 नामक दुई हात भएको रोबोट र Apollo नामक ह्युमनाइड रोबोटमा पनि प्रयोग गरिएको थियो।
डिपमाइन्डले यो मोडेलसँगै जेमिनाइ रोबोटिक्स एसडीके पनि सार्वजनिक गरेको छ । यसमार्फत विकासकर्ताहरूले रोबोटहरूलाई MuJoCo physics simulator प्रयोग गरी ५० देखि १०० वटा कार्यको डेमो देखाएर नयाँ कार्यमा तालिम दिन सक्नेछन् ।
गुगल मात्र होइन, अन्य एआई कम्पनीहरू पनि रोबोटिक्सको क्षेत्रमा सक्रिय देखिएका छन् । एनभीडियाले ह्युमनोइड रोबोटका लागि फाउन्डेसन मोडेल निर्माण गर्ने प्लेटफर्म बनाउँदैछ। Hugging Face ले खुलेका मोडेल र डेटासेट निर्माण मात्र नभई आफ्नै रोबोटसमेत विकास गरिरहेको छ। त्यस्तै, कोरियन स्टार्टअप RLWRLD ले पनि रोबोटका लागि फाउन्डेसन मोडेल बनाउने कार्य गरिरहेको छ ।