सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ नेपालका लािग उपलब्धीमूलक रहेको बताएका छन् । गणतन्त्र कोरियाको सिओलमा बुधबार आयोजना भएको ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा बोल्दै उनले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको बताएका हुन् ।
'डिजिटल लिडर्सिप फोरम एकदमै उपलब्धीपूर्ण र सफल भएको छ यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणमा आधारित भएर डिजिटल नेपालको रुपमा अगाडि बढाउन तथा एआईमैत्री नेपाल बनाउन फोरम फलदायी भएको छ,' उनले भने ।
सञ्चारमन्त्री खरेलले नेपालले डिजिटल तथा एआई ट्रान्सफरमेसन सम्बन्धी नीति बनाएर संरचनागतरुपमा काम अगाडि बढाएको उल्लेख गरेका छन् । उनले अगाडि थपे, 'नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको छ । राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको छ । डिजिटल नेपालको रोडम्यापको मस्यौदा तयार गरिएको जानकारी फोरमलाई गराइएको छ ।'
सञ्चारमन्त्री खरेलका अनुसार कोरियन सरकार, विश्व वैंकलगायत अन्य विभिन्न साझेदार संस्थाहरुसँग नेपाल सरकारकोतर्फबाट आगामी दिनमा सहकार्य गर्ने प्रस्ताव फोरममा राखिएको छ । विशेषगरी कोरियन सरकार र विश्व वैंकलगायत साझेदारसंस्थाकोतर्फबाट पनि नेपाल सरकारसँग डिजिटल र एआई ट्रान्सफरमेसनको लागि आगामी दिनमा सहकार्य र साझेदारिताका साथ अघि बढ्ने समझदारी बनेको छ ।
'डिजिटल र एआई विषयमा साझेदारी भन्नाले विभिन्न आर्थिक साझेदारी क्षमता अभिवृद्धि गर्न, ‘एक्सपोजर भिजिट’, ‘नलेज शेयरिङ’लगायतमा आगामी दिनमा साझेदारी गर्ने र नेपाललाई सहयोग गर्ने कुराकानी भएको उनको भनाइ छ ।
समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको आगामी सहकार्य एवं साझेदारिताका विषयमा धारणा राखेका छन् । त्यसक्रममा कोरिया सरकार र त्यहाँको नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) ले पनि नेपाललाई कसरी सहकार्य गर्न सकिन्छ, आपसी सझेदारीताका विषयमा पनि परामर्श भएको छ ।
फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेलगायत सहभागी थिए । फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल मङ्गलबार कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोवल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर विषयमा दुई सत्रहरु सञ्चालन भएका छन् । डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडीजीहरु र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषय अन्तर्गत फोरममा एचिभिङ द एसडीजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपालसहित विभिन्न देशका मन्त्री, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार, सरकारी प्रतिनिधि तथा एशिया प्रसान्तका लागि संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुपनि सहभागि भएको जनाइएको छ । मन्त्री खरेल यही कात्तिक २९ गते स्वदेश फर्कने तालिका छ ।
आईसीटी समाचार