गुगलले एन्ड्रोइडमा चल्ने पीसी कम्प्युटर बनाउँदैछ। यसको अर्थ, अब तपाईंको मोबाइल अनुभव सिधै तपाईंको कम्प्युटर वा ल्यापटपमा पनि आउनेछ।
यो खबर गुगलमा प्लेटफर्म र डिभाइसका प्रमुख रिक ओस्टरलोह र क्वालकमका सीईओ क्रिस्टियानो अमोनबीचको कुराकानीमा खुल्न आएको हो।
ओस्टरलोहले भने, “पहिले हामी पीसी र स्मार्टफोनका लागि बिल्कुलै अलग अलग सिस्टम बनाउँथ्यौँ। तर अब हामीले यी दुवैलाई मिलाउने एउटा प्रोजेक्ट सुरु गरेका छौँ। हामी एउटा यस्तो प्राविधिक आधार बनाइरहेका छौँ जुन हाम्रो पीसी र डेस्कटप कम्प्युटिङ सिस्टमका लागि एउटै हुनेछ।”
यस नयाँ कदमले एआई अझ राम्रो बनाउने उनको भनाइ छ। उनका अनुसार यो एआई, जेमिनाई मोडल, गुगल असिस्टेन्ट र हाम्रो सम्पूर्ण विकासकर्ता समुदायलाई पीसी क्षेत्रमा फाइदा पुर्याउने अर्को उपाय हो। मलाई लाग्छ यो अर्को तरिका हो जसले एन्ड्रोइडलाई हरेक कम्प्युटिङ श्रेणीमा पुग्न मद्दत गर्नेछ।
क्रिस्टियानो अमोनले गुगलको यस प्रोजेक्टको प्रशंसा गरे। उनले भने, “मैले यसलाई देखेको छु, र यो अविश्वसनीय हो। यसले मोबाइल र पीसीको तालमेलको सपना पूरा गर्छ। ”
यो खबर गुगलका पुराना योजनासँग मेल खान्छ। गुगलले पहिले नै घोषणा गरेको थियो कि उनीहरूले क्रोमओएस र एन्ड्रोइडलाई मिलाएर एउटै प्लेटफर्म बनाउने चाहना राख्छन् ताकि सबै उपकरणमा एउटै र सहज अनुभव मिलोस्। यो नयाँ एन्ड्रोइड पीसी प्रोजेक्ट सोही दिशातर्फ ठूलो कदम हुन सक्छ।
यही क्रममा क्वालकमले अर्को ठूलो घोषणा पनि गरेको छ । कम्पनी चाँडै आफ्नो नयाँ स्न्यापड्रयागन ८ एलाइट जेन ५ चिपसेट लन्च गर्न लागेको छ। यो चिपसेट अर्को वर्ष आउने धेरै हाइ–एन्ड एन्ड्रोइड फोनहरूमा प्रयोग हुने आशा गरिएको छ ।
शाओमीले पहिले नै पुष्टि गरिसकेको छ कि उसको आउने शाओमी १७ सिरिजमा यही चिपसेटको प्रयोग हुनेछ। साथै, वनप्लस १५, आइक्यूओओ १५ र रियलमी ८ प्रो जस्ता केही सम्भावित उपकरणहरू यसै वर्ष नै यो नयाँ प्रोसेसरसँग आउन सक्ने अनुमान छ।