कीवर्डहरू -

गुगलको क्रोममा ‘स्कील’ फिचर, जेमिनाई प्रम्प्ट सेभ गरेर छिटो प्रयोग गर्न मिल्ने

गुगलको क्रोममा ‘स्कील’ फिचर, जेमिनाई प्रम्प्ट सेभ गरेर छिटो प्रयोग गर्न मिल्ने

काठमाडौं । गुगलले क्रोममा रहेको जेमिनाईका लागि ‘स्कील’ नामक नयाँ फिचर ल्याउन थालेको छ । डेस्कटप क्रोममा क्रमशः रोल आउट भइरहेको यो फिचरले प्रयोगकर्तालाई आफूले बारम्बार प्रयोग गर्ने जेमिनाई प्रम्प्टहरू सेभ गरेर पछि छिटो प्रयोग गर्न सहयोग गर्नेछ ।

यस फिचरमार्फत प्रयोगकर्ताले च्याट हिस्ट्रीबाटै मनपर्ने प्रम्प्टलाई स्कीलका रूपमा सेभ गर्न सक्नेछन् । सेभ गरिएका स्कील प्रयोग गर्न स्ल्यास टाइप गर्न वा प्लस बटन क्लिक गरी आवश्यक स्कील छनोट गर्न सकिने व्यवस्था गरिएको छ ।

गुगलले केही पूर्वनिर्धारित प्रम्प्टहरू पनि उपलब्ध गराएको छ । एकपटक सेभ गरिएका स्कीलहरू प्रयोगकर्ताको गुगल खातामा साइन इन भएको कुनै पनि डेस्कटप क्रोममा उपलब्ध हुनेछन् । हालका लागि यो सुविधा युएस इङ्लिस ब्राउजर भाषा सेट गरेका प्रयोगकर्ताहरूमा मात्र उपलब्ध छ ।

क्रोममा जेमिनाईलाई गुगलले पछिल्ला महिनामा विशेष प्राथमिकतामा राखेको देखिन्छ । वर्षको सुरुवातमा कम्पनीले क्रोममा डेडिकेटेड जेमिनाई साइडबार थपेको थियो, जसबाट नानो बनाना जेनेरेसन सुविधा पनि प्रयोग गर्न सकिने बनाइएको थियो ।

हालै गुगलले जेमिनाई इन क्रोमलाई क्यानडा, भारत र न्युजिल्यान्डका प्रयोगकर्तासम्म विस्तार गर्न थालेको छ । एआई प्रतिस्पर्धा तीव्र बन्दै गएसँगै गुगलले क्रोममा अझ धेरै एआई–आधारित सुविधा थप्ने अपेक्षा गरिएको छ ।